क्यान्सर उपचारमा नयाँ सफलता, १५ जना बिरामी पूर्णरूपमा निकाे भए !
एक्सन खबर
एजेन्सी । क्यान्सर उपचारको क्षेत्रमा वैज्ञानिकहरूले महत्वपूर्ण उपलब्धि हासिल गरेको दाबी गरेका छन् । अमेरिकी औषधि कम्पनी जोनसन एन्ड जोनसनले विकास गरेको ‘एमिभान्टामाब’ (Amivantamab) नामक नयाँ उपचार विधिले परम्परागत उपचारबाट अपेक्षित नतिजा नपाएका बिरामीहरूमा आशालाग्दो सफलता देखाएको हो ।
११ देशमा सञ्चालन गरिएको क्लिनिकल परीक्षणमा शरीरका विभिन्न भागमा फैलिसकेको, पुनः बल्झिएको वा उपलब्ध उपचारले प्रभाव नपारेको क्यान्सर भएका १०२ जना बिरामीलाई सहभागी गराइएको थियो । अनुसन्धानकर्ताहरूका अनुसार तीमध्ये ४३ जनामा उपचारको सकारात्मक प्रभाव देखिएको छ ।
अध्ययनअनुसार २८ जना बिरामीको ट्युमर उल्लेखनीय रूपमा सानो भएको पाइएको छ भने १५ जना बिरामीको शरीरबाट क्यान्सरका ट्युमर पूर्ण रूपमा हराएको पुष्टि गरिएको छ । चिकित्सकहरूका अनुसार ती बिरामीहरूमा अन्य उपचारका विकल्प लगभग समाप्त भइसकेका थिए ।
लन्डनस्थित इन्स्टिच्युट अफ क्यान्सर रिसर्चका विशेषज्ञ प्राध्यापक केभिन ह्यारिङ्टनले यो नतिजालाई अभूतपूर्व उपलब्धि बताएका छन् । उनका अनुसार किमोथेरापी र इम्युनोथेरापी दुवैप्रति प्रतिरोधी भइसकेका बिरामीमा यति प्रभावकारी प्रतिक्रिया देखिनु अत्यन्त दुर्लभ घटना हो ।
अनुसन्धान विशेषगरी टाउको तथा घाँटीको क्यान्सर भएका बिरामीमा केन्द्रित थियो । एमिभान्टामाबले क्यान्सर कोषिकाको वृद्धि गराउने ईजीएफआर (EGFR) प्रोटिनलाई निष्क्रिय बनाउने, एमईटी (MET) जैविक मार्गलाई अवरुद्ध गर्ने तथा शरीरको रोग प्रतिरोधात्मक प्रणालीलाई सक्रिय बनाउने गरी तीनवटा फरक माध्यमबाट काम गर्ने वैज्ञानिकहरूले बताएका छन् ।
हाल यो उपचार फोक्सोको क्यान्सरलगायत अन्य प्रकारका क्यान्सरमा पनि परीक्षण भइरहेको छ । प्रारम्भिक नतिजाहरू उत्साहजनक देखिए पनि विशेषज्ञहरूले यसलाई तत्काल “क्यान्सरको पूर्ण उपचार” का रूपमा घोषणा गर्न नमिल्ने बताएका छन् । उपचार अझै क्लिनिकल परीक्षणकै चरणमा रहेकाले यसको दीर्घकालीन प्रभाव, सुरक्षा र प्रभावकारिताबारे थप अध्ययन आवश्यक रहेको उनीहरूको भनाइ छ ।
वैज्ञानिकहरूले भने यस उपलब्धिलाई क्यान्सर उपचारको क्षेत्रमा नयाँ आशा र सम्भावित महत्वपूर्ण मोडका रूपमा व्याख्या गरेका छन् ।
0 प्रतिकृया