ऐलानी जग्गामा बनाइएका घरटहरामा डोजर (फोटो फिचर)
सुर्खेत, २ माघ । सल्यानको शारदा नगरपालिकाले ऐलानी जग्गामा बनाइएका घर टहरामा डोजर चलेको छ । आधुनिक बसपार्क निर्माण गर्न शारदा नगरपालिका १ श्रीनगरस्थित बसपार्क क्षेत्रका घरटहरामा सोमबार नगरपालिकाले डोजगर चलाएको हो ।
श्रीनगर बजार नजिक रहेका सरकारी पर्ती ऐलानी जग्गामा आधुनिक बसपार्क निर्माणका लागि अस्थायी बसपार्क वरपरका झन्डै १ सय ५० बढी घरटहरा हटाइएको नगरपालिकाले जनाएको छ ।
पहिलो चरणमा ३५ रोपनी क्षेत्रफलमा बनाइएको घरटहरामा डोजर चलेको नगरप्रमुख प्रकाश भण्डारीले जानकारी दिए । मंसिर १५ गते बसेको शारदा नगर कार्यपालिकाको बैठकले ऐलानी जग्गामा बनेको घरटहरा हटाउने निर्णय अनुसार ३५ दिने सूचना जारी गरी घरटहरा हटाइएको उनको भनाई छ । ३५ दिने सूचना जारी गर्दा पनि नहटाउने घरटहरामा डोजर चलेको भण्डारीले बताए ।
कानुनको परिधिभित्र रहेर विकास निर्माणको काम गर्न आफूलाई कसैले अवरोध गर्न नसक्ने उनको भनाई छ । स्थानीय घर र जग्गाधनीहरुले भने बसपार्क क्षेत्रमा मात्र भन्दा पनि ऐलानी जग्गामा बनेका सम्पूर्ण घरटहरा भत्काउनु पर्ने बताएका छन् । घरटहरा भत्काउनेमा आफूहरुको विरोध नरहेको भन्दै उनीहरुले अन्य स्थानमा ऐलानी जमिनमा बनेका संरचना पनि भत्काउनु पर्छ भन्ने माग रहेको उनीहरुको भनाई छ ।
0 प्रतिकृया