‘पार्वती’ लाई एक लाखको पुरस्कार
एक्सन खबर
काठमाडौं, १३ फागुन । नेपालको रंगमञ्चमा सर्वाधिक पुरस्कार राशी भएको नाट्य महोत्सव ‘राष्ट्रिय बाल नाटक मेला २०७९’ सम्पन्न भएको छ । मेलामा भक्तपुरको निस्ट स्कूलले प्रस्तुत गरेको नाटक ‘पार्वती’ ले सर्वोत्कृष्ट नाटकको पुरस्कार सहित एक लाख नगद प्राप्त गरेको छ ।
फागुन ८ बाट शुरु भएको राष्ट्रिय बाल नाटक मेला २०७९ मा नाटक पार्वतीले सर्वोत्कृष्ट नाटकका साथै पुष्पराज अवस्थीले उत्कृष्ट निर्देशक, स्यारोन कटुवालले उत्कृष्ट सहायक चरित्र पुरुष, सुजन पहाडीले उत्कृष्ट नकारात्मक चरित्र पुरुष, उत्कृष्ट भेषभुषा, उत्कृष्ट श्रृंगार, उत्कृष्ट पाश्र्व ध्वनि गरी जम्मा ७ वटा पुरस्कार जितेको छ । सर्वोत्कृृष्ट नाटक बाहेक हरेक विधाका लागि ५ हजार नगद पुरस्कार पनि रहेको थियो ।
त्यसैगरी बृहस्पति विद्यासदनले प्रस्तुत गरेको नाटक ‘???’ का मनोज तामाङले उत्कृष्ट नाटककार र निर्णायक सम्मान, स्पर्श अधिकारीले उत्कृष्ट शिर्ष चरित्र पुरुष, अध्यता क्षेत्रीले उत्कृष्ट हास्य चरित्र महिला गरी ४ वटा पुरस्कार जितेको छ ।
नेक्सस स्कूलले प्रस्तुत गरेको नाटक ‘ड्याड भर्सेस मम’ बाट हेईस्का निरौलाले उत्कृष्ट शिर्ष चरित्र महिलाको पुरस्कार, आयुषा पराजुलीले उत्कृष्ट नकारात्मक चरित्रसहित उत्कृष्ट मञ्च परिकल्पना, उत्कृष्ट प्रकाश परिकल्पना गरी ४ वटा पुरस्कार प्राप्त गरेको छ ।
मेलामा उत्कृष्ट सहायक चरित्र महिलाको पुरस्कार विद्या सागर स्कूलको ‘सपना’ बाट कुईन्सी श्रेष्ठ र उत्कृष्ट हास्य चरित्र आरभ पुरीले प्राप्त गरे । उत्कृष्ट प्रत्यक्ष संगीत ‘कोही त बुझ न’ ले प्राप्त ग¥यो ।
मेलाको निर्णायकमा राजेन्द्र शलभ, भुवन चन्द र शेखर चापागाईँ थिए । कार्यक्रममा नाट्यकर्मी महासंघका अध्यक्ष राजेन्द्र रिमालले मेला आयोजनाका लागि पाँच महादेशबाट सहयोग गर्ने शुभचिन्तकहरुलाई विशेष धन्यवाद दिए । उनले आगामी वर्षको लागि राष्ट्रिय बाल नाटक मेला २०८० को मिति पनि घोषणा गरे, उनका अनुसार आगामी संस्करण २०८० माघ २४ गते देखि सञ्चालन हुनेछ । त्यसका लागि सहभागिताका लागि आजैको मिति देखि तयारी थाल्न सबैलाई आव्हान पनि गरे ।
राष्ट्रिय नाचघरमा उदघाटन भएर सञ्चालन भएको मेलाको समापन नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा गरिएको थियो । मेलामा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपति निशा शर्माले बालबालिकाहरुको लागि यत्रो महोत्सव आयोजना गरेको र आगामी वर्ष अझै यो भन्दा व्यापक रुपमा गर्ने भन्ने सुनेकोले बधाई र शुभकामना व्यक्त गरिन् ।
समापन कार्यक्रममा सिल्क रोड ईन्टरनेशनल लिग अफ थिएटरका संस्थापक सदस्य दीपक सरकार, पशुपति विस्कुटका तर्फबाट श्रीपा श्रेष्ठ, कवि महेश पौड्याल, कलाकार मोहन निरौला लगायतले बोलेका थिए ।
0 प्रतिकृया