काठमाडौं, १९ फागुन । नेपालले क्रिकेट विश्वकप लिग–२ मा पपुवा न्यु गिनी(पीएनजी)लाई ३ विकेटले हराएको छ । शुक्रबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पपुवा न्यु गिनीले दिएको १८० रनको लक्ष्य नेपालले ४८ ओभरमा ७ विकेट गुमाई पूरा गर्दा ओपनर आसिफ शेखले अर्धशतक खेले ।
नेपालका लागि आसिफ सेखले सर्वाधिक ८६ रन बनाउँदा सन्दीप लामिछानेले ३५ रन बनाए । आसिफले १३० बलमा २ चौका र १ छक्कासहित ८६ रन बनाए । ५० बल खेलेका सन्दीपले ३ चौकासहित ३५ रन बनाए । नेपाललाई १०५/७ को अवस्थाबाट जिततर्फ अग्रसर बनाउन आसिफ शेख र सन्दीप लामिछानेको साझेदारी उल्लेखनीय रह्याे ।
नेपालका ओपनर कुशल भुर्तेल दोस्रो इनिङ्सको पहिलो बलमै रोयल डक हुँदा कुशल मल्लले २३ रन बनाए । नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पपुवा न्यु गिनी ४९.२ ओभरमा १ सय ७९ रनमा अलआउट हुँदा ओपनर टोनी उराले सर्वाधिक ३९ रन बनाए । उनले ५१ बल खेली २ चौका र १ छक्का प्रहार गरे । अर्का ओपनर किप्लन डोरिगाले २६ रन बनाउँदा सेसे बाउ र कप्तान असाद भाला समान ११ रनमा आउट भए ।
हिरी हिरीले ३१ रन बनाउन ६३ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे । गौडी टिका १५, चाड सोपर र रिलेय हेकुरे समान ९ रनमा आउट भए । नोर्मन भानुआ १४ रनमा आउट भए । दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले २–२ विकेट लिए । दीपेन्द्रले १० ओभरमा १ मेडन राख्दै ३० र सोमपालले १० ओभरमा ३९ रन खर्चे । करण केसी, कुशल मल्ल र सन्दीप लामिछानेले १–१ विकेट लिए ।
लिग–२ मा नेपालले पपुवा न्यु गिनीविरुद्ध यसअघि भएका तीन खेल नै जितेको थियो । अब नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय जोगाउन आफ्नो बाँकी रहेको ५ मध्ये ३ खेल जित्नु पर्नेछ । ३१ खेलमा ३० अंकसहित सात राष्ट्र सहभागी प्रतियोगितामा नेपाल छैटौं स्थानमा छ ।
लिग–२ को शीर्ष तीन टोली जुलाई जिम्बावेमा हुने विश्वकप छनोटमा सोझै पुग्दा शीर्ष ५ राष्ट्रले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने छन् । अमेरिका ३६ खेलमा ३५ अंकसहित चौथो र यूएई ३० खेलमा ३१ अंक जोडी पाँचौं स्थानमा छ । पपुवा न्यु गिनी ३१ खेलमा ७ अंकसहित पुछारमा छ ।
0 प्रतिकृया