Follow us:


Follow us

७ असोज २०८०, आइतवार
७ असोज २०८०, आइतवार


आज फागुन पुर्णिमा, पहाडी जिल्लाहरूमा सार्वजनिक विदा

एक्सन खबर
फागुन, २२, २०७९




आज फागुन पुर्णिमा, पहाडी जिल्लाहरूमा सार्वजनिक विदा

काठमाडौँ, २२ फागुन । आज रंगहरूकाे पर्व फागुन पुर्णिमा । आज पहाडी जिल्ला र भोलि तराईका जिल्लामा असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ ।

सरकारले फागु अर्थात् होलीको अवसरमा सार्वजनिक विदासमेत दिएको छ । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेसका जिल्लाहरूमा वसन्त ऋतुका अनेक रङहरूलाई प्रतिविम्बित गर्ने पर्वका रूपमा होली पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ ।

होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ । फागु पूर्णिमाको अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीका साथै राजनीतिक दलका शीर्ष नेताहरुले शुभकामना दिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले फागु पुर्णिमाको अवसरमा शुभकामना दिँदै पर्वले विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिहरुलाई निर्मूल गर्दै मौलिक संस्कृतिहरुको संरक्षण र संवर्द्धन गर्न प्रेरणा प्रदान गर्ने बताएकी छन् ।

साथै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभित्र प्रत्येक जातजाति र धर्मावलम्बीहरुका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक परम्परा र पर्व रहेको भन्दै यस्ता मौलिक परम्परा, संस्कृति र पर्वहरुले सामाजिक सद्भाव, एकता र सहकार्यको आधारशिला खडा गर्नाका साथै राष्ट्रिय एकता र स्वाधीनताको प्रतिनिधित्व गर्ने उल्लेख गरेका छन् ।

होलीको अघिल्लो साँझ काठमाडाैंको वसन्तपुर दरवार अगाडि 'होलिका दहन' गरेर  यस चाडको सुरुवात गरिन्छ । हिरण्यकश्यपुकी बहिनी होलिकाले बिष्णुका परम् भक्त हिरण्यकश्यपुका छोरा (प्रह्लाद)लाई मार्न अग्निमा आसन गर्दा होलिका आँफै जलेर नष्ट भएको र असत्य माथि सत्यको जित भएको दिनको सम्झनामा यो पर्व मनाउने गरिन्छ ।

होलीको रौनक पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म भब्य हुन्छ । काठमाडौँ, पोखरा, धरान, भरतपुर, बिराटनगर, धनगढी लगायत ठाउँमा होलीको रौनक अझै फरक हुन्छ । विशेष सांस्कृतिक कार्यक्रमहरू र त्यसमाथि रङहरूको वर्षाले सहरको होली अझै रमाइलो र राम्रो देखिन्छ ।

होलीमा पानी छ्याप्ने, अबिर, केशरी लगायत रङ लगाउने चलन छ । बर्तमान समयमा होलीले विभिन्न खालका विकृति, विसङ्गतिहरू पनि नभित्र्याएको पनि कहाँ हो र ? होलीमा आजका युवाहरु इच्छा बिपरित रङ्ग दलिदिने, अण्डा फोड्ने, गाडीको मोबिल दल्ने, हिलो लगाइदिने, युवाहरु रक्सी, गाँजा, भांग, खाएर मातिने जस्ता काम गर्छन् जसलाई राम्रो मान्न सकिँदैन । नेपालका मुख्य शहरहरूमा होलीका लागि भनेर विभिन्न ठाउँमा कडा सुरक्षा जाँच गरिन्छ।














0 प्रतिकृया