Follow us:


Follow us

१६ वैशाख २०८२, मङ्गलवार
१६ वैशाख २०८२, मङ्गलवार


आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन

एक्सन खबर
बैशाख, ७, २०८०




आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन

काठमाडौं, ७ वैशाख । आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन जन्मदिने आमाप्रति सद्भाव प्रकट गर्ने दिनका रूपमा मनाइदैछ । जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी आज मातातीर्थ औँसी मनाइँने गरिएकाे हाे ।

प्रत्येक वर्षको वैशाख कृष्ण औँसीका दिन आमाको मुख हेर्ने दिन वा मातातीर्थ औंसी पनि भनिन्छ । मातातीर्थ औंसीका दिन जीवित आमालाई खान–लाउन दिएर सम्मान गरिन्छ भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी सम्झना गरिन्छ ।

आजका दिन मातृश्राद्ध गरे अक्षय पुण्य प्राप्त भई आमाले तृप्ति पाउने शास्त्रमा उल्लेख छ । पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवम् धर्मशास्त्रका जानकार डा. बासुदेवकृष्ण शास्त्रीका अनुसार आमा नभएकाहरुले श्राद्ध गर्दै आमाको सम्झना गर्छन् ।

हिन्दु सांस्कृतिक परम्पराअनुसार आज नै आमाको मुख हेर्ने र सम्मान व्यक्त गर्ने विशेष दिन हो । आज छाेराछाेरीहरूले आफ्नी आमाकाे मुख हेर्दै मिष्ठान्न भाेजन, नयाँ कपडा दिएर आशिर्वाद लिने गर्छन् ।

आज दिवंगत आमाको सम्झनामा श्राद्ध तथा दान गर्न वैशाख कृष्ण औंसीका दिन काठमाडौंको मातातीर्थमा मेला लाग्दछ । काठमाडौँको चन्द्रागिरि नगरपालिकाले मातातीर्थ मेलाको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

मेलामा सहभागी भई त्यहाँस्थित कुण्डमा दर्शन गरेमा आमा दिवंगत हुने छोराछोरीले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने जनविश्वास छ । आमा नहुने नरनारी मातातीर्थमा गई स्नान तथा हरिहर (विष्णु र शिव) को पूजा गर्छन् । भने आमा नभएकाहरुले सके प्रत्येक वर्ष, नसके एक पटक मातातीर्थ औंसीमा श्राद्ध गर्नुपर्ने मान्यता छ ।

आजको दिन मातातीर्थमा रोटी खसेको र उक्त रोटी खसेको ठाउँमा दिवङ्गत आमाका मुख देखेको जनविश्वास छ । द्वापर युगमा गाई चराउन गोठालो आएका ग्वालाले खाजाका लागि ल्याएको रोटी कुण्डमा खसेपछि हेर्दा दिवङ्गत आमाको मुख देखेर रुन थालेका थिए । संयोगले त्यो दिन वैशाख कृष्ण औँसीको दिन परेको थियो ।

कुण्डमा देखिएकी आमाले ती ग्वालालाई नरोऊ प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन हामी दिवङ्गत माता यहाँ आउँछौँ भनेपछि त्यसैबेलादेखि मेला लाग्न थालेको कथन छ । आजकै दिन भक्तपुरका नेवार समुदायले भक्तपुरको हनुमानघाटमा गई आमाको सम्झनामा श्राद्ध गरी तर्पण दिने प्रचलन छ ।













0 प्रतिकृया