फरवार्ड नेपाल २८ औं वर्षमाः भूमिकालाई प्रभावकारी बनाउँदै लैजाने
एक्सन खबर
सुनसरी, १८ बैशाख । ग्रामिण क्षेत्रका महिलालाई उद्यमशिलतामा जोड्दै उनीहरुमा आर्थिक पहुँच पुर्याउने उद्देश्यले स्थापित ग्रामिण महिला उत्सुकता विकास मञ्च (फरवार्ड नेपाल) २८ औं वर्ष पुरा गरेको छ । सो अवसरमा सोमबार दुहवीमा फरवार्डका संस्थापक अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य भगबती चौधरीको प्रमुख आतिथ्यतामा शुभकामना आदानप्रदान पनि गरियो ।
सो अवसरमा बोल्दै पूर्वमन्त्री समेत रहेकी सांसद चौधरीले महिलाहरुलाई आर्थिक क्षेत्रमा अगाडी ल्याउन फरवार्ड नेपालले निर्वाह गरेको भूमिकालाई अझ सवल र प्रभावकारी बनाउँदै लैजानु पर्ने बताइन् । आर्थिक रुपमा महिला बलियो नभएसम्म समाज परिवर्तन हुन नसक्ने जिकीर गर्दै नेतृ चौधरीले मुलुकको दिगो विकास, समाज सुधारका लागि महिलामा वित्तीय पहुँच अत्यावश्यक भएको पनि औंल्याइन् ।
सुनसरीको दुहवीमा २०५२ साल बैशाख १८ गतेबाट औपचारिक रुपमा सामाजिक, आर्थिक, वातावरणीय क्षेत्रमा सचेतना अभिबृद्धि गर्दै महिलाहरुमा सीप विकास र वित्तीय पहुँच समेत पुर्याइरहेको फरवार्ड नेपाल महिला अधिकारवादी नेतृ भगबती चौधरीले स्थापना गरेको संस्था हो । श्रीमान स्वर्गीय दिनेश कुमार चौधरीले समाज परिवर्तन गर्न र महिलालाई आत्मनिर्भर बनाउन नेतृ चौधरीलाई अगाडी सारेर फरवार्ड नेपालको जग बसाएका थिए ।
सुरुवाती तवरमा सुनसरी, मोरङ, धनकुटा, उदयपुर जस्ता क्षेत्रका ग्रामिण वस्तीहरुमा महिला साक्षरता, स्वास्थ्य सचेतना जस्ता कार्यक्रम चलाएको फरवार्ड नेपालले त्यसपछि महिलाहरुलाई वित्तीय साक्षरता दिँदै नेपाल राष्ट्र बैंकको नियमानुसार वित्तीय मध्यस्तताको कार्यक्रम चलाएको थियो ।
महिलाहरुलाई सामाजिक, आर्थिक रुपमा सवल बनाए महिला माथिको सबै प्रकारका हिँसा समेत न्यूनीकरण गर्न सकिन्छ भन्ने सोच लिएर गाउँगाउँमा महिलाहरुलाई बचत गर्न सिकाउने र उनीहरुको सीपलाई व्यवसायीकरण गर्ने अभियानका रुपमा फरवार्ड नेपालको स्थापना गरिएको सांसद चौधरीले बताइन् । ‘महिलाहरुलाई नेतृत्व तहमा अगाडी बढाउँदै गाउँगाउँमा शिक्षा, स्वास्थ्यका कार्यक्रम चलाइरहेको थियौं । पछि नेपाल राष्ट्र बैंकले एनजिओहरुलाई वित्तीय मध्यस्तताको लागि अनुमति दिएपछि वित्तीय साक्षरतासँगै सामुहिक जमानीमा कर्जा प्रवाहका कार्यक्रम सुरु गरेका थियौं ।’ नेतृ चौधरी भन्छिन् ।
त्यसबेला पाँच रुपैंया पनि बचत गर्न नसक्ने अवस्थाका महिलाहरुलाई बचत गर्नुपर्छ, व्यवसाय गर्नुपर्छ भन्दा ठूलै चुनौति ब्यहोर्नु परेको चौधरीको स्मृतिमा छ । ‘महिलाहरु घरधन्धामै सिमित थिए, घरेलु र सामाजिक हिँसा सहेर बसेका थिए । पैसा के हो भन्ने थाहै थिएन । कार्यक्रम लैजाँदा गाउँगाउँमा एनजिओहरु समाज विगार्न आएसम्म भने । तर, महिलाहरुलाई नै बढी प्राथमिकतामा राखेर कार्यक्रम चलाएकाले विस्तारै उनीहरु खुल्न थाले ।’
फरवार्ड नेपालले लघुवित्त कार्यक्रम सुरु गरेसँगै गाउँगाउँमा महिलाहरुमा वित्तीय साक्षरता मात्र पुगेन, आर्थिक सवलीकरण र व्यवसायीकरण पनि सुरु भएको हो । बचत गर्नुपर्छ, सीप सिक्नुपर्छ, आत्मनिर्भर भइयो भने कुनै हिंसाको शिकार हुनुपर्दैन भन्ने सोच समाजमा फैलिएको छ ।
राष्ट्र बैंकले वित्तीय मध्यस्तकर्ताको कारोबार गर्ने एनजिओहरुलाई लघुवित्तको कारोबार गर्न दिने रणनीति ल्याएपछि फरवार्ड नेपाल, एभरेष्ट बैंक र आरएमडिसी मिलेर माइक्रोफाइनान्समा रुपान्तरण गरिएको थियो । हाल फरवार्ड माइक्रोफाइनान्स देशका ४० जिल्लाहरुमा सक्रिय छ ।
फरवार्ड नेपालले भने गाउँगाउँमा अझैपनि वित्तीय साक्षरता फैलाउने, सामाजिक विभेदका विरुद्ध सचेतना दिने, महिलाहरुलाई विभिन्न सीप मुलक तालिम दिने तथा महिला हिँसाका विरुद्ध विभिन्न कानुनी पैरवी र सचेतनाहरु फैलाउने कार्य गरिरहेको छ ।
0 प्रतिकृया