गौतम बुद्धको जन्मभूमि नेपाल हुनु गौरवको विषयः राष्ट्रपति रामचन्द्र पौडेल
एक्सन खबर
काठमाडौं, २२ वैशाख । विश्व शान्तिका प्रकाश भनेर सम्मान गरिने गौतम बुद्धको जन्मभूमि नेपाल हुनु हामी सबै नेपालीहरूका लागि गौरवको विषय भएको राष्ट्रपति रामचन्द्र पौडेलले बताएका छन् । गौतम बुद्धले प्रतिपादन गर्नुभएको अहिंसा र शान्तिको सन्देशले व्यक्ति, परिवार, समाज, देश र विश्वको सर्वोत्तम हित र प्रगतिका लागि सदैव प्रेरणा दिने विश्वास व्यक्त गरे ।
२५६७औँ बुद्ध जयन्तीको अवसरमा आज दिएको शुभकामना सन्देशमा शान्तिदूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवं सबल बनाउन सकिने विश्वास लिएको राष्ट्रपतिले जनाएका छन् ।
बुद्धको अहिंसात्मक शान्ति सन्देश तथा उपदेशको स्मरण गर्दै एकता, सहिष्णुता, सद्भाव, अहिंसा र शान्तिको महान् अभियानमा लाग्न विश्वका सम्पूर्ण मानवलाई प्रेरणा मिलोस् भन्ने राष्ट्रपति पाैडेलकाे विश्वास छ ।
वैशाख शुक्लपक्षको पूर्णिमा तिथिको दिन गौतम बुद्धको त्रि-संयोग अर्थात जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकैदिन परेकाले आजको तिथिलाई विश्वभर गौतम बुद्धप्रति श्रद्धा एवं भक्तिभाव व्यक्त गर्दै बुद्ध जयन्ती मनाउने गरिन्छ ।
आज काठमाडाैंकाे स्वयंभू, बाैद्ध स्तुपा, चावहिल स्तूपामा विशेष पुजा अर्चना हुनेछ । यसका साथै, गाैतम बुद्धकाे जन्मस्थल लुम्विनीमा विशेष पूजा र आराधना हुने गरेकाे छ ।
0 प्रतिकृया