नेशनल मेडिकल कलेजमा नयाँ विद्यार्थीहरुलाई शैक्षिक अभिमुखीकरण
एक्सन खबर
विरगञ्ज, ३२ जेठ । चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवामा मधेश प्रदेशकै धरोहरका रुपमा रहेको पर्सा विरगञ्जको नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले नयाँ विद्यार्थीहरुलाई शैक्षिक अभिमुखीकरण गरेको छ । कलेजमा एमविविएस, विडिएस लगायत शैक्षिक कार्यक्रममा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई कलेज ब्यवस्थापनले शैक्षिक अभिमुखीकरण गरेको हो ।
कार्यक्रममा बोल्दै कलेजका प्रबन्ध निर्देशक बसरुद्धिन अन्सारीले मेडिकल शिक्षा हासिल गर्न आएका विद्यार्थीहरुलाई स्वागत गर्दै कठिन मेहनत र लगनशिलताले नै सफलता प्राप्त गर्न सकिने बताए । नेशनल मेडिकल कलेजले स्थापनाकालदेखि अहिलेसम्म कलेजमा अध्ययनरत विद्यार्थी, शिक्षक तथा कर्मचारीहरुलाई एउटा परिवारको रुपमा हेर्ने भएकाले विद्यार्थीहरुले पनि कलेजलाई सोही अनुसार व्यवहार गर्न सुझाए ।
‘आफ्नो कर्मभूमी यहीबाट बनाउने सोच लिएर आउनु भएका तपाई विद्यार्थीहरुलाई सूस्वागतम भन्न चाहन्छु । यहाँहरुको लगनशिलता, मेहनतले कलेजको पनि नाम उच्च रहने भएकाले मेहनत गर्नुहोला ।’
अन्सारीले आमाबुबाले मात्र नभएर छिमेकी र देशले समेत मेडिकल शिक्षा हासिल गर्ने विद्यार्थीबाट ठूलो अपेक्षा गर्ने भएकोले मेहनतका साथ अध्ययन गर्नुपर्नेमा जोड दिए । ‘तपाईहरुबाट अभिभावकले जुन सपना देखेका छन् त्यसलाई पुरा गर्न कलेजले पूर्ण सहयोग गर्छ । हामी क्वालिटी एजुकेशनकालागि कम्प्रोमाइज गर्दैनौं । तपाईहरुले पनि कडा मेहनतका साथ पढाई पुरा गर्नुहुन्छ भन्ने विस्वास छ ।’ अन्सारीले भने ।
छोराछोरीप्रति अभिभावकले गरेको भरोसा कायम गराउन विद्यार्थी आफ्नो करियर प्रति बढी जिम्मेवार बन्नुपर्ने सुझाब अन्सारीको छ । कलेजका प्रिन्सिपल प्रा.डा. केएन सिंहले नेशनल मेडिकल कलेजले विद्यार्थीको दक्षता, क्षमता हेरेर अध्ययन अध्यापन गराउने बताउँदै विद्यार्थीले पनि अनुशासनमा रहेर अध्ययनमा मात्र ध्यान दिनुपर्ने बताए ।
कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले भोलीको भविष्य उज्जवल बनाउन विद्यार्थीहरुले कडा मेहनत गर्नुपर्ने बताउँदै चिकित्सकीय अभ्यासमा कलेजले कुनै कम्प्रोमाइज नगर्ने जनाए । अनुशासन विद्यार्थीको मात्र नभएर समग्र व्यक्तित्वकै गहना भएको चर्चा गर्दै विद्यार्थी जीवनमा भने बढी महत्व रहेको औंल्याए ।
कार्यक्रममा कलेजका एजुकेटिभ डाइरेक्टर सहनबाज अन्सारी, एकेडेमिक निर्देशक नुसरत जहान अन्सारी, हस्पिटल डाइरेक्टर इसरत जहान, एकेडेमिक डाइरेक्टर आविद हुसेन अन्सारी लगायत कलेजका विभागीय प्रमुखहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा कलेजको शैक्षिक गुणस्तर, पाठ्यक्रम, प्रशासकीय जानकारी र होस्टलको नियमहरुका बारेमा नयाँ विद्यार्थीहरुलाई जानकारी गराइएको थियो ।
0 प्रतिकृया