Follow us:


Follow us

१७ वैशाख २०८३, बिहिवार
१७ वैशाख २०८३, बिहिवार


रोकिएन ‘असारे विकास’, बढ्दै भ्रष्टाचार

एक्सन खबर
असार, १७, २०८०


रोकिएन ‘असारे विकास’, बढ्दै भ्रष्टाचार

मुकेशकुमार यादव

सिरहा, १७ असार । पछिल्लो समय सिरहाका सबैजसो स्थानीय तहहरुमा असारे विकासले तीव्रता पाएको छ । वर्षको ११ महिना सुस्ताएर बसेका जनप्रतिनिधि, ठेकेदार कम्पनी, कर्मचारी र उपभोक्ता समितिलाई असारको मध्येतिर भ्याइनभ्याइ हुने गरेको छ ।

वर्षभरि सुस्ताएर बसेका सिरहाको नरहा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र उपभोक्ता समितिलाई जोडतोडले असार मसान्तमा बजेट सक्नेगरी ‘असारे विकास’ लागेको छ ।  

नरहा गाउँपालिका–५ पानवारी बलुवा टोलमा तीनवटा फरक फरक बाटो निर्माण गर्ने उपभोक्ता समिति बाटो आरसीसी ढलानको काम सुरु गर्ने तरखर गरेका छन् । वडाको आरसीसी ढलानदेखि नरहाको सीमानासम्मको उपभोक्ता समिति र स्थानीय बाटो ढलानको लागि साधँ सिमाना मिलाउन व्यस्त छन् ।

निर्माण समितिका अध्यक्ष काशिन्द्रप्रसाद यादवले कार्यादेश नै ढिलो गरी प्राप्त भएकोले काम अगाडि बढाउन ढिलो भएको बताए । उनले भने, ‘पहिला विवादका कारण उपभोक्ता समिति गठन हुन सकेन, पछि समिति गठन भएपनि कार्यादेश असारको २ गते पछि बनेकाले काम समयमा सुरु गर्न नसकिएको हो ।’  यो वडामामात्र नरहा गाउँपालिका अध्यक्ष राम प्रमोद यादवको निर्देशित कोषबाट चालु आर्थिक वर्ष २०७९/८० बाट २० लाख रकम विनियोजन गरिएको छ ।  

त्यसैगरी, सोही वडामा डिहिवार थानदेखि साविक वार्ड नम्बर १ सम्मको सडक आरसीसी ढलानको कामले पनि गति लिन सकेको छैन । पालिका अध्यक्षको निर्देशित कोषबाट चालु आर्थिक वर्ष २०७९/८० बाट ५५ लाख रकम विनियोजन गरिएको छ । स्थानीय रामकुमार यादवको अध्यक्षतामा गठित उपभोक्ता समितिले सडकमै रहेका केही घरहरु समयमा हटाउन नसकेको कारण काम गर्न ढिलो भएको बताए ।

उपभोक्ता समितिका अध्यक्ष यादवले भने, ‘हामीले समयमै काम  गर्ने प्रयास गरेपनि विवादकै कारण सुरु गर्न सकेनौं । अब सबै विवादहरु साम्य भइसकेको छ । काम सुरु गरिहाल्छौँ ।’ समयले साथ दिए १० दिनमा काम सक्ने उनले जनाए । सोही वडामा अर्को पनि १० लाख रुपैयाँ आरसीसी ढलानको लागि विनियोजन गरेको छ । त्यसको कामको अवस्था पनि उस्तै छ ।  

एउटै वडामा गाउँ पालिका अध्यक्षले तीनवटा योजनामा ८० लाख बजेट आरसीसी ढलानको लागि विनियोजन गरेको छ । जसमध्ये कुनै योजनाको मध्ये असारसम्ममा गति लिन सकेको छैन ।  सडक ढलानको लागि अपारदर्शी ढंगले उपभोक्ता समिति गठन गरेकाले समयमा काम सुरु गर्न नसकेको नाम नबनाउने सर्तमा एक स्थानीले बताए । उनले भने, ‘अपारदर्शी तरिकाले गाउँपालिका अध्यक्षले उपभोक्ता समिति गठन गर्न खोजेपछि विवादका कारण गठन हुन सकेन, असार मसान्तमा जनतालाई दवावमा परेर समिति गठनगरी काम गर्न खोजिएको छ ।’

वर्षातको समयमा गाउँपालिका अध्यक्षले रकम कुम्ल्याउनकै लागि आफ्ना नजिककाहरुलाई समितिमा राखेर असारको पहिलो साता कार्यादेश दिन लगाएको उनको आरोप छ । समितिले साँध सिमाना छुट्याउन असारको मध्ये समयमा जेसीभी पनि सँगै ल्याएका थिए । स्थानीयको विरोधका कारण ल्याइएका जेसीभी पनि फर्किएर गयो । विवाद भएपछि यो सडकको ढलान कार्य अझै अन्यौलमा परेको छ।  

नरहा गाउँपालिकामा असार १५ गते सम्ममा करिब ३० प्रतिशत काम सम्पन्न भएको प्रावधिक शाखा प्रमुख इन्जिनियर राम कुमार यादवले बताए । उनले भने, ‘अहिलेसम्म करिब ३० प्रतिशत काम सम्पन्न भए पनि छ, ३५ प्रतिशत कार्य अन्तिम चरणमा छ, २० प्रतिशतले असारमा कार्यादेश लिएको छ । सबै काम सक्ने हो भने असार मसान्तसम्मका ८५ प्रतिशत काम सक्ने लक्ष्य छ ।’ इन्जिनियर यादवका अनुसार १५ प्रतिशत कामको अहिलेसम्म सम्झौता र कार्यादेश नभएकाले त्यो बाहेक सबै काम सक्ने लक्ष्यअनुसार काम भइरहेको छ ।  

त्यसैगरी, गोलबजार नगरपालिकालाई पनि असारे विकासको चटाराले छोडेको छैन । गोलबजार नगरपालिका–९ डण्डा टोलमा असार करिब ४ असारबाट खाने पानी ट्याङकीको निर्माण कार्य सुरु गरिएको छ ।  

वर्षातको मौसममा सुरु गरिएको निर्माण कार्य समपन्न गर्न कम्तीमा १ महिनाको अवधि चाहिन्छ । तर, यहाँका जनप्रतिनिधि, कर्मचारी र नामकै लागि गठन गरिएका उपभोक्ता समितिकै मिलोमतेमा उक्त निमार्ण कार्य गर्न उपभोक्ता समिति गठन गरे पनि काम भने ठेकेदारले गराइरहेको स्थानीयले बताएका छन् ।

मुसहरु महतोका अनुसार बलियो पानी ट्यांकी बनाउन कम्तीमा एकदेखि दुई महिनासम्म लाग्ने काम ठेक्केदारले पानीमै धमाधम निर्माण कार्य गरिरहेको बताए । यो निमार्ण कामको न त उपभोक्ता समिति को हो स्थानीयलाई जानकारी छ, न त ठेक्केदार नै । ‘निर्माण कार्य कसले गराइरहेको थाहा छैन । तर, चोहर्वाको एक जना बिहानै बिहान आउँछ । निर्माण सामग्री खसाल्छन् अनि जान्छ,’ उनले भने,‘मेयरसाहेवको गाउँको मान्छेले नै काम गराइरहेको देखिरहेको छु ।’  

गोलबजार नगरपालिकामा हालसम्म ५४ प्रतिशत काम सम्पन्न भइसकेको इन्जिनियर नविन कौशलले जनाएको छ । उनले भने, ‘हामीले लिएको लक्ष्यअसार मसान्तसम्ममा ८० प्रतिशत काम सम्पन्न गर्छौँ । करिव २५ प्रतिशत काम रनिङमा छ, यो पनि असारको अन्तिमसम्ममा सकिनेछ ।’   

आर्थिक वर्षको अन्तमा हतारहतार बजेट सक्नेगरी हुने विकास निर्माणका कार्यको बेथिति चालु आर्थिक वर्षमा पनि देखिएको छ । एक प्राविधिकका अनुसार विकसित मुलुकले कुन काम कुन समयमा गर्ने भन्नेबारे निश्चित योजना बनाई त्यहीअनुसार कानून तर्जुमा गरेका हुन्छन् । तर, नेपालमा विकास निर्माणका काम समयमै सम्पन्न हुनुपर्छ भन्ने योजना बने पनि कार्यान्वयन गराउन सकेका छैनन् ।

पछिल्लो समय जिल्लाको अधिकांस पालिकाहरुमा असारे विकास मौलाएको छ । स्थानिय जनप्रतिनिधि र कर्मचारीहरुकै कारण आर्थिक वर्षको अन्त्यमा विकास खर्च हुने प्रवृत्ति रोक्न सकेका छैनन्। स्थानीय उपभोक्तालाई दवावमा परेर अपारदर्शी ढङ्गले काम गर्न पल्केका जनप्रतिनिधी र कर्मचारीकै कारण असारको मध्ये समयमा काम गर्ने गरेको आरोप छ । असारमा योजना ल्याउने र त्यो पनि आफन्त र नजिककाहरुबाट काम गराउने प्रवृतिले पनि असारे विकासमा व्यापक अनियमितता हुने पुष्टि गरेको छ ।













0 प्रतिकृया