पाकिस्तानमा भत्काईयो १५० बर्ष पुरानो हिन्दु मन्दिर
कराँची, १ साउन । पाकिस्तानको सिन्ध प्रान्तको राजधानी कराँचीमा रहेको १५० वर्ष पुरानो हिन्दू मन्दिरलाई भत्काइएकाे छ । पुरानो र खतरनाक संरचना भन्दै सरकारले उक्त मन्दिर भत्काएपछि सो क्षेत्रमा बसोबास गर्ने हिन्दु समुदायका मानिसहरु समस्यामा परेका छन् ।
कराँचीको सोल्जर बजारमा रहेको मारी माताको मन्दिरलाई शुक्रबार राति भारी प्रहरीको उपस्थितिमा बुलडोजरको सहायताले भत्काइएको थियो । यस क्षेत्रका हिन्दू मन्दिरहरूको हेरचाह गर्ने रामनाथ मिश्र महाराजले भने, ‘उनीहरू राति अबेरसम्म मन्दिर भत्काए र हामीलाई थाहा थिएन कि यो भइरहेको छ ।’
अधिकारीले मन्दिरको बाहिरी पर्खाल र मुख्य गेटलाई अक्षुण राख्दा भित्रको सम्पूर्ण संरचना भत्काएको मिश्रले बताए । उनले करिब डेढ सय वर्षअघि मन्दिर निर्माण भएको र मन्दिरको आँगनमा खजाना गाडिएको बताए । उनका अनुसार चार सयदेखि ५ सय वर्ग गज क्षेत्रफलमा मन्दिर बनेको र वर्षौंदेखि मन्दिरको जग्गा कब्जा गर्ने प्रयास भइरहेको थियो ।
स्थानीय प्रहरी चौकीका एक वरिष्ठ प्रहरी अधिकारीले मन्दिरलाई अधिकारीहरूले खतरनाक संरचना घोषणा गरेकाले भत्काइएको बताए । उनले मन्दिर कराँचीको मद्रासी हिन्दू समुदायले सञ्चालन गरेको र संरचना निकै पुरानो र खतरनाक भएकोमा उनीहरु सहमत भएको बताए । ‘मन्दिर व्यवस्थापनले भारी हृदयले देवताका मूर्तिहरूलाई सानो कोठामा सारेका छन् ।’ ती अधिकारीले भने ।
अर्कोतर्फ हिन्दू समुदायका स्थानीय नेता रमेशले मन्दिरको जग्गा किर्ते कागजपत्रका आधारमा ‘डेभलपर’लाई बिक्री गरेको भन्दै केही समयदेखि मन्दिर व्यवस्थापनलाई परिसर खाली गर्न दबाब परेको बताए । उनले मन्दिरको जग्गामा ‘डेभलपर’ले व्यावसायिक भवन बनाउन चाहेको बताए ।
हिन्दू समुदायले पाकिस्तान हिन्दु परिषद, सिन्धका मुख्यमन्त्री सैयद मुराद अली शाह र सिन्ध प्रहरी महानिरीक्षकलाई यस विषयमा तत्काल ध्यानाकर्षण गर्न अपील गरेका छन् ।
0 प्रतिकृया