Follow us:


Follow us

१७ जेठ २०८३, आइतवार
१७ जेठ २०८३, आइतवार


आज भगवान् विष्णुकाे आठौं अवतार कृष्ण जन्माष्टमी

एक्सन खबर
भदौ, २०, २०८०


आज भगवान् विष्णुकाे आठौं अवतार कृष्ण जन्माष्टमी

काठमाडौं, २० भदौ । आज भाद्र कृष्ण अष्टमी अर्थात् कृष्ण जन्माष्टमी । सनातन धर्मावलम्बीहरू भगवान् कृष्णको जन्म भएको दिनको सम्झना गर्दै  धुमधामका साथ मनाउँछन् । द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरात रेवती नक्षत्रमा भगवान् विष्णु आठौं अवतारका रूपमा कृष्ण जन्मिएकाे पुराणहरूमा उल्लेख छ ।

लोकमा अधर्म बढ्दै जाँदा भगवानले विभिन्न रूप लिने परम्पराअनुरूप कंसलगायत दानवको अन्त्यका लागि भगवान विष्णुले कृष्णको रूप लिएको कथन छ । कंसको कालकोठरीमा वासुदेव र देवकीको पुत्रका रूपमा जन्मिएका कृष्णले मथुरामा देखाएको बाललीला र महाभारत युद्धअघि अर्जुनलाई गीताज्ञान दिएकाे ग्रन्थ प्रख्यात छ ।

मानिसले गरेको कर्मअनुसार नै उसलाई फल प्राप्त हुने गरिसकेको कामबारे आशक्ति राखी चिन्तित नहुनु भन्ने भगवान् कृष्णले दिएको गीताको सार छ ।

आजका दिन कृष्णका गुणकीर्तन गर्ने, उनको आराधना गर्ने जाग र उत्सव मनाउने परम्परा छ । नेपाल र भारतमा रहेका श्रीकृष्णमन्दिरमा आजका दिन घुइँचो लाग्ने गर्छ । नेपालमा पाटनको कृष्णमन्दिरमा बिहानैदेखि श्रद्धालुको घुइँचो लागेको छ ।

कृष्ण जन्माष्टमीको महत्व कृष्ण जन्माष्टमीलाई सातम, आठम, गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती वा कहिलेकाही साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा हिन्दू पञ्चाङ्ग अनुसार भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले यो दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ । कुरुक्षेत्रमा कौरबहरूसँगको लडाईमा संलग्न पाण्डवहरूमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयं उहाँका मुखारविन्दबाट व्यक्त श्रीमद्भागवत गीता हिन्दूहरूको पवित्र ग्रन्थ हाे ।

बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंस, जरासन्ध, शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको थियो । जन्माष्टमीमा काठमाडौंलगायत मुलुकका विभिन्न नगरका विभिन्न धार्मिक संघरसंस्थाहरूद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा निकालिने चलन छ ।













0 प्रतिकृया