आज भगवान् विष्णुकाे आठौं अवतार कृष्ण जन्माष्टमी
काठमाडौं, २० भदौ । आज भाद्र कृष्ण अष्टमी अर्थात् कृष्ण जन्माष्टमी । सनातन धर्मावलम्बीहरू भगवान् कृष्णको जन्म भएको दिनको सम्झना गर्दै धुमधामका साथ मनाउँछन् । द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरात रेवती नक्षत्रमा भगवान् विष्णु आठौं अवतारका रूपमा कृष्ण जन्मिएकाे पुराणहरूमा उल्लेख छ ।
लोकमा अधर्म बढ्दै जाँदा भगवानले विभिन्न रूप लिने परम्पराअनुरूप कंसलगायत दानवको अन्त्यका लागि भगवान विष्णुले कृष्णको रूप लिएको कथन छ । कंसको कालकोठरीमा वासुदेव र देवकीको पुत्रका रूपमा जन्मिएका कृष्णले मथुरामा देखाएको बाललीला र महाभारत युद्धअघि अर्जुनलाई गीताज्ञान दिएकाे ग्रन्थ प्रख्यात छ ।
मानिसले गरेको कर्मअनुसार नै उसलाई फल प्राप्त हुने गरिसकेको कामबारे आशक्ति राखी चिन्तित नहुनु भन्ने भगवान् कृष्णले दिएको गीताको सार छ ।
आजका दिन कृष्णका गुणकीर्तन गर्ने, उनको आराधना गर्ने जाग र उत्सव मनाउने परम्परा छ । नेपाल र भारतमा रहेका श्रीकृष्णमन्दिरमा आजका दिन घुइँचो लाग्ने गर्छ । नेपालमा पाटनको कृष्णमन्दिरमा बिहानैदेखि श्रद्धालुको घुइँचो लागेको छ ।
कृष्ण जन्माष्टमीको महत्व कृष्ण जन्माष्टमीलाई सातम, आठम, गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती वा कहिलेकाही साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा हिन्दू पञ्चाङ्ग अनुसार भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले यो दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ । कुरुक्षेत्रमा कौरबहरूसँगको लडाईमा संलग्न पाण्डवहरूमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयं उहाँका मुखारविन्दबाट व्यक्त श्रीमद्भागवत गीता हिन्दूहरूको पवित्र ग्रन्थ हाे ।
बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंस, जरासन्ध, शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको थियो । जन्माष्टमीमा काठमाडौंलगायत मुलुकका विभिन्न नगरका विभिन्न धार्मिक संघरसंस्थाहरूद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा निकालिने चलन छ ।
0 प्रतिकृया