आज हरितालिका (तीज) पर्व, महादेवकाे आराधना गरि मनाइँदै
काठमाडौं, १ असोज । आज हरितालिका अर्थात् सनातन हिन्दु धर्मावलम्बी महिलाहरूकाे महान पर्व तीज धुमधामका साथ मनाइँदैछ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिकामा विशेषगरी आराध्य देव भगवान शिवकाे पूजा आराधना गरीन्छ ।
भदौ शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वासका रहिआएकाे छ । धार्मिक ग्रन्थहरूका अनुसार सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको हाे । आज पशुपतिनाथकाे मन्दिरमा महिलाहरूले विशेष पुजाअर्चना गर्दै भगवान शिवकाे आराधना गर्ने गर्दछन् ।
संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ । पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाउँदा साथीहरूले पार्वतीलाइ हरण गरी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिएकाे ग्रन्थमा उल्लेख छ ।
साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रूपमा प्राप्त गरेकाले पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन सुरु भएको कथन छ ।
यो चाडमा माइतीले (बाबु आमा,दाजुभाइ) छोरी/चेलीलाई घरमा गई लिएर आउने वा बोलाएर मीठा-मीठा परिकार खुवाउने तथा मनका भावना एवम् सुखदुख साटासाट गरी एउटै ठाउँमा खाने-बस्ने चलन रहेको छ । यस दिन विशेष महत्त्वकासाथ दर खाने गरिन्छ । यही दर खाने दिनबाट नै तीज पर्वको आरम्भ भएको मानिन्छ । दरमा ठाउँअनुसार विभिन्न मिठा-मिठा परिकार साथै खिर, ढकने, सेलरोटी, केरा लगायतका खाना, फलफूल खाने गरिन्छ ।
आधुनिकता सँगसँगै यसमा खाइने परिकारमा परिवर्तन आउँदै गएको छ । सामान्यतया दर मध्यरात १२ बजेअघि खाने चलन बसिसकेको छ । भोलिपल्ट दिनभर पानीसम्म पनि नखाई बस्नुपर्ने भएकोले दर खाने दिन राति ढिलासम्म बसेर पेटभरी खाने प्रचलन छ ।
तीजको दिनका अतिरिक्त गणेश चतुर्थी र ऋषिपञ्चमीलाई पनि तीज पर्वकै रूपमा मनाइन्छ । खास गरी यसमा स्त्रीहरूले पतिको निम्ति निराहार रहेर भगवान शिव तथा आद्य शक्ति पार्वतीसँग प्रार्थना गर्दछन् । यो दिन महिलाहरू बिहान चाँडै उठी नुहाई धुवाई गरेर दिनभरि जल, अन्न ग्रहण नगरी बर्त बस्ने गर्दछन् । बेलुकीपख घर, गाउँ र छिमेकका महिलाहरू भेला भई पूजाका सामान तथा मण्डप तयार गरी भगवान शिवको आराधना गर्ने प्रचलन रहेको छ ।
निर्जला व्रत भनिए पनि आजभोलि महिलाहरू मध्यान्हमै पूजा, आराधनापश्चात् फलफूल ग्रहण गर्ने गर्दछन् । कतिपय महिलाहरू नजिक रहेको शिवमन्दिरमा गई शिव आराधनाका साथै नाचगान तथा रमाइलो गर्ने गर्दछन् । काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा महिला बर्तालुहरूको ठूलो भिड लाग्छ ।
0 प्रतिकृया