Follow us:


Follow us

१९ साउन २०८३, मङ्गलवार
१९ साउन २०८३, मङ्गलवार


आजदेखि सोह्र श्राद्ध आरम्भ, पितृ तर्पण गरिँदै

एक्सन खबर
असोज, १३, २०८०


आजदेखि सोह्र श्राद्ध आरम्भ, पितृ तर्पण गरिँदै

काठमाडाैं, १३ असाेज । आजदेखि सोह्र श्राद्ध आरम्भ भएकाे छ । साेह्र श्राद्ध विजयादशमी सुरू हुन अगाडीसम्म पर्दछ । आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिकाे पात्राेमा उल्लेख छ ।

समितिका सदस्य प्राडा देवमणि भट्टराईका अनुसार प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने छ । त्यसपछि द्वितिया तिथी लाग्नेछ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई तर्पण, पिण्ड र सिदादान गरिन्छ । हिन्दु सनातम धर्मावलम्बीहरूले चाडपर्व, यज्ञ तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सोह्रश्राद्ध गर्छन् ।

शास्त्रीय मान्यता अनुसार सोह्रश्राद्धमा पितृले आफ्ना सन्तानबाट तर्पण, पिण्डको आश गरिरहेका हुन्छन् भन्ने छ । सोह्रश्राद्ध गर्नाले पितृप्रतिको दायित्व पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ ।

जाताशौच, मृताशौच र पत्नी रजस्वला भएका अवस्थामा बाहेक सोह्रश्राद्ध छोड्न हुँदैन भन्ने छ । कारणवश सोह्रश्राद्ध रोकिँदा सोह्रश्राद्ध कर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ । आपत् धर्मअनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने पण्डितहरूकाे भनाइ छ ।

कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्ने, कार्तिक कृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने शास्त्रीय ग्रन्थमा उल्लेख छ ।

आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र र व्यतीपात योग परेका दिन जुनसुकै तिथि परेपनि रोकिएको सोह्रश्राद्ध गर्न सकिने छ । त्यसपछि पनि सोह्रश्राद्ध गर्न नसकिएमा सक्नेले आफैँ नसक्नेले ब्राह्मणमार्फत् दैनिक १०८ मन्त्र १० महिनासम्म जप गर्न सकिने शास्त्रीय विकल्प रहेको छ ।

बडादसैँ मनाउनुअघि पितृ तृप्तिका लागि सोह्र श्राद्ध गर्ने गरिएको धर्मशास्त्रीय मत छ । यस वर्ष गत साउन महिनामा अधिकमास परेकाले सोेह्रश्राद्ध र बडादसैँ पछि सरेको छ ।
 













0 प्रतिकृया