बडादशैंकाे आठौं दिन महाअष्टमी, भद्रकालीकाे विशेष पुजा
एक्सन खबर
काठमाडौं, ५ कार्तिक । आज बडादशैंकाे आठौं दिन महाअष्टमी पर्व । शक्तिस्वरूपा दुर्गा भवानीको विशेष पूजाआराधना गरी मनाउँदै छ । आज दशैं घर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजासहित दुर्गा सप्तशती, देवी भागवत र देवी स्तोत्र पाठ गरिन्छ ।
महाअष्टमीमा महाकाली (भद्रकाली)को विशेष पूजाआजा गरिन्छ । देवीभागवतका अनुसार प्राचीन कालमा दक्षप्रजापतिको यज्ञ नाश गर्ने ज्यादै शक्तिशाली भद्रकाली करोडौँ योनी-शक्तिका साथ यसै अष्टमीका दिन उत्पन्न भएकी थिइन् । त्यसैले यस दिन उनको पूजा सोह्र सामग्रीले गर्ने गरिन्छ ।
आजका दिन काठमाडौं उपत्यकाभित्रका शक्तिपीठहरु गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल शाेभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, सङ्कटा, बज्रवाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाई, भाटभटेनी, बङ्गलामुखीलगायत मन्दिरहरुमा पनि बलिसहित पूजाआजा हुन्छ ।
उपत्यकाबाहिरका गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डढेलधुराको उग्रतारा, काभ्रेपलाञ्चोकको चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालीञ्चोक भगवती, ताप्लेजुङको पाथीभरा, दाङको अम्बिकेश्वरी लगायतका शक्तिपीठहरुमा पनि बलिसहित पूजाआराधना हुन्छ ।
पशु बलि नचढाउनेहरुले भने आज पूजा कोठामा आ–आफ्नो कुल परम्पराअनुसार काँक्रो, घिरौँला, कुभिण्डो, मूला र नरिवल आदि बलि चढाई पूजा गर्ने गर्दछन् ।
आजको दिन कलपुर्जा, हातहतियार र यातायातका साधनलाई विशेषरूपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशु बलिसहित पूजाआजा गर्ने गरिन्छ । यी साधनलाई देवीको शस्त्रअस्त्रका रूपमा मानी पूजा गर्ने गरिएको हो । देवीका शस्त्रअस्त्रसहित चतुरङ्गीणी सेनाको पनि आह्वान गरी पूजा गर्ने गरिन्छ ।
महाअष्टमीका दिन राति हनुमानढोकाको दशैंघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा गरिन्छ ।
0 प्रतिकृया