सुपर ओभरमा ओमानसँग पराजित हुँदा नेपाल उपाधिबाट विमुख
काठमाडौं, १९ कार्तिक । निर्धारित २० ओभरकाे खेलमा ओमानसँग बराबरी खेलेकाे नेपाल सुपर ओभरमा चुक्दै टी-२० विश्वकप एसिया छनोट फाइनलको उपाधि जित्नबाट चुकेकाे छ । २० ओभरमा नेपालले दिएकाे १८५ रनकाे लक्ष्य ओमानले २०ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाए बराबरी गरेपछि खेल सुपर ओभरमा गएकाे थियाे ।
सुपर ओभरमा ओमानले २२ रनको लक्ष्य दिएकामा नेपालले १० रन मात्र बनाउन सक्यो । सुपर ओभरमा पहिले ब्याटिङ रोजेको ओमानले तीन छक्काको मद्दतमा २१ रन बनाउँदा जवाफी ब्याटिङमा उत्रिएकाे नेपालले मात्र १० रन बनाउन सक्याे । सुपर ओभरकाे पहिलाे बलमै नेपालले लागि कुशल भुर्तेललाई गुमायाे । त्यसपछि कुशल मल्ल आएकामा उनले २ चौका हाने पनि नेपाललाई खेल जिताउन पर्याप्त भएन ।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएपछि खेल बराबरी भएको थियो ।
खेलकाे अन्तिम ओभरमा ओमानलाइ जितका लागि ९ रन चाहिएको अवस्थामा सन्दीप लामीछानेले २ विकेट लिएर सनसनी मच्चाएपनि अन्तिम बलमा २ रन चाहिएको अवस्थामा फैयाज बट रन आउट हुँदा खेल बराबरीमा रोकिएकाे थियाे ।
ओमानका लागि ओपनर कश्यप प्रजापतिले ५२ बलमा ३ चौका र ४ छक्का सहित सर्वाधिक ६३ रनको अर्धशतकीय पारी खेले । उनी अविनाश बोहराको बलमा रोहित पौडेलबाट क्याच आउट भए । ओमानका अकिव इलियासले ३३ र जिसन मक्सुदले २६ रन बनाए ।
नेपालका लागि करण केसी र सन्दीप लामीछानेले समान २/२, सोमपाल कामी, गुल्सन झा, विवेक कुमार यादव, अभिनाश बोहरा, समान १/१ विकेट लिए । ओमानका लागि विलाल खानले ३, अकिव इलियासले २ र कप्तान जिसन मक्सुदले १ विकेट लिए ।
नेपालले कप्तान रोहित पौडेल र गुल्सन झाको अर्धशतकीय पारीको मद्दतमा ६ विकेट गुमाएर १८४ रन बनाउँदा गुल्सनले टी–२० अन्तर्राष्ट्रियमा पहिलो अर्धशतक बनाए । उनले २० बलमा ४ छक्का र ५ चौकाको मद्दतमा अर्धशतक पूरा गरे ।
कप्तान रोहित पौडेलले टी–२० अन्तर्राष्ट्रियमा पाँचौं अर्धशतक बनाउने क्रममा ३६ बलमा २ छक्का र ५ चौकाको मद्दतमा ५० रन पूरा गरे ।
0 प्रतिकृया