रमा–कृष्ण सृजना प्रतिष्ठानबाट साहित्यकार, राजनीतिज्ञ र विद्यार्थी पुरस्कृत
काठमाडौं, १८ कार्तिक । रमा–कृष्ण सृजना प्रतिष्ठान काठमाडौंबाट साहित्यकार, राजनीतिज्ञ र विद्यार्थी पुरस्कृत भएका छन् । शनिबार प्रज्ञा भवनमा प्रतिष्ठानको १३ औं वार्षिकोत्सव तथा श्रष्टा सम्मान समर्पण आयोजना गरिएकाे थियाे ।
कार्यक्रममा कवि तथा वरिष्ठ साहित्यकार दुर्गालाल श्रेष्ठ कवि भवानी घिमिरेस्कृति रमा–कृष्ण साहित्य सम्मान–२०७९ बाट सम्मानित भए । उनलाई नगद १५ हजार राशी सहित सम्मान गरिएको हो । त्यस्तै, वीर झागल गुरुङस्मृति रमा–कृष्ण जनजाति उन्नयन सेवा पुरस्कार २०७९ बाट पूर्व सांसद शान्ता चाैधरीलाई प्रदान गरियाे । पूर्व सांसद तथा नेतृ चौधरी नेकपा एमालेकी नेतृ हुन् । सम्मानको राशी १० हजार नगद रहेको छ ।
यसैगरी १० हजार राशीकै डा. हर्क गुरुङस्मृति रमा–कृष्ण विज्ञान/प्रविधि युवा पुरस्कार–२०७९ बाट कान्तिपुर इन्जिनियरिङ कलेजको सिभिल इन्जिनियरिङ २०७५ व्याचका आदर्श थापासहित चार जना विद्यार्थीहरुको परियोजनालाई सम्मान गरियाे ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले पुरस्कृत व्यक्तित्वहरूलाई सम्मान गरेका थिए । समारोहलाई सम्बोधन गर्दै कविवर दुर्गालाल श्रेष्ठ र पूर्व सांसद शान्ता चौधरीले सम्मानित हुन पाएकोमा खुसी व्यक्त गर्दै धन्यवाद दिए ।
प्रतिष्ठानका अध्यक्ष महेन्द्र बहादुर गुरुङको अध्यक्षतामा आयोजित समारोहमा साहित्यानुरागी, श्रष्ठाहरूकाे बाक्लाे उपस्थिति रहेकाे थियाे । समारोहमा बोल्दै अध्यक्ष गुरुङले सम्मानित व्यक्तित्वहरुले सम्मान स्वीकार गरेकाेमा कृतज्ञता व्यक्त गर्दै प्रतिष्ठानले आगामी दिनमा साहित्य,कला, संस्कृति, शिक्षा, विज्ञान प्रविधिका क्षेत्रमा अझ काम गर्ने बताए ।
0 प्रतिकृया