आज तिहारको चौथो दिन: गोवर्द्धन पर्वत, बलि, हली र गोरुको पूजा
काठमाडौं, २८ कार्तिक । तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि, गोरु र हलीको पूजाआजा गरी मनाइँदैछ । कार्तिक शुक्ल प्रतिपदाका दिन गोवर्द्धन पर्वत, बलि, गोरु र हलिको पूजा आजा गरिन्छ ।
आजका दिनमा घरआँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने परम्परा रहेकाे छ । द्वापर युगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हाे ।
धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईका अनुसार गोवर्द्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने विधि रहेको छ । भगवान् विष्णुले बलि राजालाई यमपञ्चकका पाँच दिन मर्त्यलोकको शासन गर्ने अधिकार दिएको विश्वासका आधारमा आज बलि राजाको पनि सम्झना स्वरुप पूजा आराधना गरिन्छ ।
मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा आजा गरी मीठा मीठा खानेकुरा खान दिने प्रचलन रहेकाे छ भने, गोरुलाई महादेवको वाहन अर्थात् साँढेका रूपमा पनि पूजा गर्ने परम्परा छ ।
आजबाट नेपाल संवत् ११४४
यस्तै, आजबाट नेपाल संवत् ११४४ सुरू भएकाे छ । मंगलबार काठमाडौंमा भिन्तुना र्यालीसहित नेपाल संवत् ११४४ को स्वागत गरिएको छ । नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने नेपाल संवत् लाई सरकारले २०६५ सालमै राष्ट्रिय संवत्काे रूपमा घाेषणा गरिसकेकाे छ ।
राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात गराएका हुन् ।
नेपाल संवत्लाई नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वर, धरानलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरूपमा मनाउने गरिन्छ । २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए ।
0 प्रतिकृया