Follow us:


Follow us

१६ वैशाख २०८२, मङ्गलवार
१६ वैशाख २०८२, मङ्गलवार


पूर्वपरराष्ट्रमन्त्रीकाे ‘राष्ट्र–परराष्ट्र ‘एकतन्त्रदेखि गणतन्त्रसम्म’ लाेकार्पण

एक्सन खबर
मंसिर, ६, २०८०




पूर्वपरराष्ट्रमन्त्रीकाे ‘राष्ट्र–परराष्ट्र ‘एकतन्त्रदेखि गणतन्त्रसम्म’ लाेकार्पण

काठमाडौं, ६ मंसिर । पूर्वपरराष्ट्रमन्त्री तथा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. भेषबहादुर थापाको आत्मसंस्मरणात्मक पुस्तक ‘राष्ट्र–परराष्ट्र ‘एकतन्त्रदेखि गणतन्त्रसम्म’ लोकार्पण भएको छ । काठमाडौंमा मंगलबार आयोजित विशेष समारोहबीच सांसदद्वय डा. स्वर्णिम वाग्ले, सुमना श्रेष्ठ, पत्रकारद्वय सुधीर शर्मा, हरिबहादुर थापा र लेखक डा. भेषबहादुर थापाले संयुक्त रूपमा पुस्तक लोकार्पण गरेका हुन् ।

पुस्तकमा डा. थापाले आफूले बाँचेको परिवेश, अपनाएको पेसा र सङ्गत गरेका पात्रहरूको सुन्दर एवम् सजीव चित्रण गरेको सांसद डा. स्वर्णिम वाग्लेले बताए । ‘यस पुस्तकमा काजी खलकको कथा, कर्तव्य, दायित्वको सन्तुलन, पात्रहरूका विराट् सम्बन्धहरूको कूटनीतिक व्याख्या छ,’ डा. वाग्लेले भने, ‘डा. थापाको यो पुस्तक कर्तव्य र सेल्फ इन्ट्रेस्टको सन्तुलन हो । जिम्मेवारीको सामाजिक र आर्थिक पक्षको डकुमेन्टेसन पनि हो ।’

पुस्तकमा पूर्वराजदूत समेत रहेका डा. थापाले आफ्नो कर्मजीवन एवम् पारिवारिक जीवन आदि विविध पक्षको चित्रण जीवन्त रूपमा आए पनि कतिपय विषयवस्तुमा थप व्याख्या र विस्तार आवश्यक रहेको सांसद सुमना श्रेष्ठले बताइन् । उनले युवाका लागि देशको अतीतको ज्ञान दिन डा. थापाकाे पुस्तक सहयोगी रहेकाे बताइन् ।

नेपालको कूटनीतिदेखि शासन–प्रशासनसम्मका विषयमा रहेका वास्तविकता पुस्तकमा रहेकाले यसले वर्तमान पुस्तालाई देशको विगत बुझाउन सहयोग पुग्ने सांसद श्रेष्ठले जनाइन् ।

बिमाेचनमा बाेल्दै लेखक तथा पत्रकार सुधीर शर्माले डा. थापाले जीवनको ६५ वर्ष राज्यका लागि कूटनीतिक जिम्मेवारीमा बिताएको भनिदिए पनि हुने बताउँदै भने, ‘यो पुस्तक पढ्दा उहाँ नेतृत्वको भन्दा पनि देशप्रति उत्तरदायी रहेको बुझ्न सकिन्छ, उहाँलाई राजाको मान्छे भन्ने गरिए तापनि राजदरबारसँगै टसल परेको पनि देखिन्छ ।’ पुस्तकमा आवश्यकताभन्दा बढाइचढाइँ गरी केही पनि नलेखिएको उनले जनाए ।

पुस्तकमा डा. थापाले २००७ सालपछि नेपाल कसरी फरक हुँदै आयो, वैदेशिक सम्बन्ध कसरी अघि बढ्यो, पञ्चायतकालीन समयको शासन–प्रशासन केकसरी चल्यो आदि विषयमा व्याख्या–विश्लेषण गरेको शर्माको भनाइ छ । त्यति मात्र नभएर राजदरबार, राजा र वैदेशिक सम्बन्ध आदिमा पनि पुस्तकले विशेष जानकारी दिने उनले बताए । भारत होस् या अमेरिका, अथवा दौत्य सम्बन्ध भएका अरू कुनै देश, तिनीसँगको कूटनीतिक सम्बन्ध कसरी अघि बढ्यो भन्ने विषयमा पनि पुस्तक विशेष रहेको उनको भनाइ छ ।

डा. भेषबहादुर थापाको जीवनीमा आधारित पुस्तक ‘राष्ट्र–परराष्ट्र’ पत्रकार हरिबहादुर थापाले सहलेखन गरेका हुन् । कार्यक्रममा पत्रकार थापाले पुस्तक लेखनको अनुभवसमेत साझा गरे । पुस्तक ०७० साउनमा लेख्न सुरु गरिएको भएपनि थापाकाे पारिवारिक वियोगका कारण बीचमा लेखन रोकिएकाे थापाले जानकारी दिए । पुस्तक नितान्त डा. थापाको अनुभवमा आधारित रहेको र देश चिन्नुपर्छ भन्नेले यो पुस्तक पढ्नुपर्नेमा उनले जोड दिए । ‘डा. थापाले २० वर्ष नेपालमै बसेर र २० वर्ष विदेशमा बसेर नेपालका लागि काम गरेकाले पुस्तकको नाम ‘राष्ट्र–परराष्ट्र’ राखिएको हो,’ उनले भने ।

संस्थागत ज्ञानलाई लिपिबद्ध गर्ने परिपाटी कम रहेको परिप्रेक्ष्यमा यो पुस्तकले संस्थागत ज्ञानको अभावलाई पूर्ति गर्ने पुस्तक प्रकाशक फाइनप्रिन्टका प्रकाशक अजित बरालले बताए । ‘राज्य सञ्चालनको जिम्मेवारी पाएका केही व्यक्तिले मात्रै यो पुस्तक पढे भने यो पुस्तकले सार्थकता पाउँछ,’ उनले भने ।

कार्यक्रममा लेखक डा. थापाले आफ्नो व्यावसायिक जीवनलाई पछि फर्केर हेर्दा पुस्तकले यस रूपमा आकार लिएको जनाए । त्यसैले पुस्तकमा आफूले आफ्नो निजी जीवनभन्दा पनि व्यावसायिक जीवन र देशका लागि जुट्दा–खटिँदा देखे–भोगेको अवस्थालाई चित्रण गरेको उनको भनाइ छ ।

अमेरिकाको क्लेरमन्ट कलेजमा विद्यावारिधि गर्दागर्दै २४ वर्षको उमेरमा राष्ट्रिय योजना परिषद्का सदस्यसचिव भएका डा. थापासँग नेपालको आर्थिक तथा कूटनीतिक मामिलामा छ दशकभन्दा लामो अनुभव छ । नेपाल राष्ट्र बैङ्कका गभर्नर, अर्थमन्त्री, परराष्ट्रमन्त्री र अमेरिका अनि भारतका लागि राजदूत भइसकेका थापा पछिल्लो समय नेपालका तर्फबाट नेपाल–भारत प्रबुद्ध समूहका संयोजक थिए ।

अमेरिकाको विश्वविद्यालय क्लेरमन्टमा पढिरहेका २४ वर्षे भेषबहादुर थापालाई राजा महेन्द्रले राष्ट्रिय योजना परिषद्को सदस्यसचिव बनाए । त्यसपछि उनी अर्थसचिव भए । नेपाल राष्ट्र बैङ्कका गभर्नर बने । राजा वीरेन्द्रका पालामा अर्थमन्त्रीको जिम्मेवारीसमेत पाए । ४० वर्ष नकट्दै यी महत्त्वपूर्ण जिम्मेवारी पाएका थापा पछि परराष्ट्रमन्त्री पनि बने । अमेरिका तथा भारतका लागि राजदूतसमेत भए । अझ पछि नेपाल–भारत प्रबुद्ध समूहअन्तर्गत नेपालतर्फका संयोजक बने ।

अस्थिर परिवर्तनहरुबाट गुज्रिएको नेपालको लामो कालखण्डलाई डा. थापाले प्रत्यक्ष हेर्न र भोग्न पाएकाले पुस्तकमा उनले त्यही समयलाई पुनर्दृष्टि दिने जमर्को गरेका छन् । २००७ सालको परिवर्तन, २०१७ सालको प्रतिपरिवर्तनदेखि गणतन्त्र नेपालसम्मका राजनीतिक आरोहअवरोह, आर्थिक मामिला, परराष्ट्र नीति तथा कूटनीतिक अभ्यास जान्न पुस्तक उपयोगी छ । यो पुस्तक देशको आर्थिक, राजनीतिक र कूटनीतिक पाटाहरुको ‘भित्रिया वृत्तान्त’ हो ।













0 प्रतिकृया