Follow us:


Follow us

१६ वैशाख २०८२, मङ्गलवार
१६ वैशाख २०८२, मङ्गलवार


जिल्ला अदालतद्वारा नवराज विक हत्या प्रकरणमा २३ जनालाई जन्मकैद

एक्सन खबर
मंसिर, २०, २०८०




जिल्ला अदालतद्वारा नवराज विक हत्या प्रकरणमा २३ जनालाई जन्मकैद

काठमाडौं, २० मंसिर । साढे तीन वर्षअघि चौरजहारी नगरपालिका सोतीगाँउमा भएको नवराज विकसहित ६ जनाको हत्याको घटनामा २३ जनालाई जिल्ला अदालत रुकुम पश्चिमले जन्मकैदको सजाय सुनाएको छ ।

मंगलबार जिल्ला अदालतका न्यायाधीश खडकबहादुर केसीको इजलासले उक्त घटनामा २३ जनालाई जन्मकैदकाे सजाय सुनाएकाे हाे । क्रुरतापूर्वक हत्या गरेको, घाइतेको हकमा ज्यान मार्ने प्रयास गरेको, अपहरण गरी शरीर बन्धक बनाई हत्या गरेको र जातीय भेदभाव तथा छुवाछुत गरेको आरोपमा तत्कालिन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २३ जनालाई जन्मकैदको सजाय सुनाएको हो ।

प्रकणमा जिल्ला अदालत रुकुम पश्चिमका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले जन्मकैदको मुद्दामा सजाय पाउने अन्यमा नवराजकी प्रेमिकाका बाबु, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मोहन पुन, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, सविन पुन, एक नाबालक, डिल्लीमल्ल ठकुरी, तिलक चन्द, इन्द्रबहादुर ठकुरी, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ललाई जन्मकैदको सजाय सुनाइएको जानकारी दिए । त्यस्तै विनोद मल्ल, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, धनराज राना, नविन घर्ती, भीम पुन, विराज पुन, बिष्णु मल्ल र रमित मगरलाई पनि जन्मकैदको सजाय सुनाइएको छ ।

नवराज विककी प्रेमिका, उनकी आमा र भाइले ज्यान मारेको आरोपबाट सफाइ पाएपनि जातीय छुवाछुतको आरोपमा दोषी ठहर भएकाले उनिहरूमाथि जनही २ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना गरिएको छ । यसअघि धरौटीमा छुटेकाहरुले ज्यान मारेको आरोपबाट सफाइ पाएकाे सूचना अधिकारी कोइरालाले जानकारी दिए । हरेक पिडितका परिवारलाई ४० हजार रुपैंयाका दरले क्षतिपूर्ति भराउने आदेश समेत भएकाे छ ।

घटनामा संलग्नको आरोप लागेका दीपेन्द्र चन्द, तुलबहादुर मल्ल, इन्द्रबहादुर मल्ल, भीमबहादुर बुढा, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, तुलाराम घर्ती र सौरभ पुन गरी ८ जनाले सबै मुद्दामा सफाइ पाएका छन् । हाल पुर्पक्ष थुनामा रहेका २३ जनालाई भध्ये संरक्षकको जिम्मामा रहेका एक नाबालकलाई समेत जन्मकैद समेत भएको छ । बालबालिकासम्बन्धी ऐन अनुसार, बालबालिकालाई नियमित सजायको बढीमा ७५ प्रतिशत मात्रै सजाय तोकिन्छ । ती नाबालकलाई जन्मकैद भनेपनि पुरै २५ वर्ष कैद बस्नु पर्दैन ।

२०७७ साल जेठ १० गते जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षका नवराज विक आफ्नी प्रेमिकासँग विवाह गर्न साथीहरुसँगै रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँ पुगेकामा किशोरीका आफन्त र गाउँलेले लखेटीलखेटी विकसहित ६ जनाको हत्या गरेका थिए भने १२ जना घाइते भएका थिए ।

उक्त घटनामा जाजरकोटका विक सहित गणेश बुढामगर, सञ्जीव (सञ्जु) विक, लोकेन्द्र सुनार र गोविन्द शाही र रुकुम पश्चिम चौरजहारी नगरपालिकाका टीकाराम नेपालीको मृत्यु भएको थियो । जिल्ला सरकारी वकिल कार्यालय रुकुम पश्चिमले उक्त घटनामा २ नाबालकसहित ३४ जनाविरुद्ध क्रुरतापूर्वक हत्या गरेको, घाइतेको हकमा ज्यान मार्ने प्रयास गरेको, अपहरण गरी शरीर बन्धक बनाई हत्या गरेको र जातीय भेदभाव तथा छुवाछुत गरेको कसुरमा जन्मकैदको सजाय माग गर्दै जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

घटनामा थुनछेक बहसपछि जिल्ला अदालत रुकुम पश्चिमले आरोपितमध्ये दीपेन्द्र चन्द, तुलबहादुर मल्ल र इन्द्रबहादुर मल्ललाई साधारण तारेखमा छाड्ने आदेश दिएको थियो । त्यस्तै नवराज बिककी प्रेमिकाकी आमालाई एक लाख रुपैयाँ धरौटीमा छाड्न र अरुलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

जिल्लाको थुनछेक आदेशको पुनरावेदन निवेदनमा सुनुवाइ गर्दै उच्च अदालत सुर्खेतले नवराज विककी प्रेमिका र उनका भाइलाई तारेखमा छाड्न आदेश दिएको थियो । त्यस्तै सर्वोच्च अदालतले भीमबहादुर बुढा, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, तुलाराम घर्ती र सौरभ पुनलाई धरौटीमा छाड्ने आदेश गरेको थियो ।

नेपाल प्रहरीको अनुसन्धान प्रतिवेदन अनुसार नवराज विकको टोली घरमा आएपछि युवतीकी आमाले गालीगलौज गर्दै तत्काल फोन गरेर चौरजहारी–८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल तथा गाउँलेलाई बोलाएकी थिइन् । गाउँलेहरु आएको थाहा पाएपछि नवराज विकसहितको टोली भाग्ने क्रममा युवतीका आफन्त र गाउँलेले लखेटी लखेटी उनीहरुको हत्या गरेको प्रहरीको भनाइ छ ।

प्रहरी अनुसन्धानले चौरजहारी नगरपालिका–८ का वडाध्यक्षसहित ३१ जना घटनामा प्रत्यक्ष संलग्न रहेको र नवराज विककी प्रेमिका किशोरी, उनकी आमा र किशोरीका ठूलोबाबु इन्द्रबहादुर मल्ललाई घटनाको षड्यन्त्रमा सामेल भएको आरोप उल्लेख गरेकाे थियाे ।













0 प्रतिकृया