‘विश्वकप खेल्ने खेलाडीलाई मासिक ३ लाख तलब दिँदा पाप लाग्दैन’ सांसद सुनिल शर्मा
एक्सन खबर
काठमाडौं । खेलाडीहरुलाई राज्यले उचित पारिश्रमिक र सेवा सुविधाहरु दिएमात्र खेलकुदको विकास हुने नेपाली कांग्रेसका सांसद डाक्टर सुनिलकुमार शर्माले बताएका छन् । राज्यले खेलकुदलाई सधैं उपेक्षा गरिरहेकाले संभावना भएका खेलकुदहरु पनि ओझेलमा परेको बताउँदै संघीय सांसद डा. शर्माले आफु राज्यको नेतृत्वमा पुगेको दिन खेलाडी तथा उनको परिवारको भरपोषणका लागि आवश्यक वातावरण बनाउन लाग्ने बताए । विश्वकप खेल्ने खेलाडीहरूलाई मासिक ३ लाख रूपैंया तलब दिँदा पनि पाप नलाग्ने डा. शर्माकाे भनाइ छ ।
सन् २०२४ को आइसिसी टि–२० विश्वकप क्रिकेटमा छनौट भएको नेपाली क्रिकेट टोलीलाई नोबेल शिक्षण अस्पतालले घोषणा गरेको १५ लाख रुपैंया नगद पुरस्कार वितरण समारोहमा बोल्दै सांसद शर्माले अन्तराष्ट्रिय जगतमा यो देशलाई चिनाउन सक्ने विश्वकप खेल्ने खेलाडीहरुलाई मानसिक रुपमै चिन्ता मुक्त बनाउन राज्यले लगानी गर्नुपर्ने बताए ।
‘दुरदराजबाट आएका हाम्रा खेलाडीहरुले विश्वकप जित्न सक्छन्, खेल्न सक्छन् भन्ने प्रमाणित गरेका छन् । त्यो खेलाडीले उसको परिवारका बारेमा, छोराछोरीको भविष्यको बारेमा चिन्ता गर्नु नपरोस् त्यसका निम्ति अहिलेको विद्यमान परिस्थितिमा इन्ट्री प्वाइन्टमा अधिकृत र कोचको लेवलमा सचिव लेवलको हैसियतमा सुविधा दिनुपर्छ ।’ खेलाडीहरुलाई कम्तिमा प्रति महिना ३ लाख तलब, बस्नका लागि फ्लाइट र बालबालिकालाई स्कुल र स्वास्थ्यको जिम्मेवारी राज्यले लिनुपर्ने भन्दै डाक्टर शर्माले भने,–‘१९ जना खेलाडीलाई प्रत्येक महिना ३ लाख रुपैंयाका दरले तलब दिँदा पाप लाग्दैन, बस्नका लागि फ्ल्याट दिने र छोराछोरीलाई राम्रो स्कुलमा भर्ना गरिदिने र बाउआमा सहितलाई स्वास्थ्यको सुविधा दिनुपर्छ । सरकारले सक्दैन भने हामी स्कूल खाेज्दिन्छाैं ।’
विश्वकप खेल्ने खेलाडी उत्पादन गर्ने कुरा सामान्य नभएको भन्दै सांसद शर्माले कुनैपनि विश्वकप खेल्ने खेलाडीहरु रिटायर्ड हुँदा उनीहरुलाई पेन्सनको ब्यवस्था गरिनुपर्ने बताउँदै सांसद शर्माले आफु नेतृत्वमा पुगे ती सबै ब्यवस्था गर्ने समेत घोषणा गरे । ‘विश्वकप खेल्ने कुनैपनि खेलाडीहरुलाई पेन्सनको ब्यवस्था गरिनुपर्छ । देश सधैं लुटेराहरुको हातमा रहँदैन, देश राम्राहरुको हातमा पनि पर्नसक्छ ।’
सांसद शर्माले आफुले मोरङ क्षेत्र नं. ३ मा अन्तराष्ट्रिय स्तरको रंगशाला बनाउन आफुले सरकार समक्ष २८ करोड बजेट माग गर्दा खेलकुद मन्त्री र अर्थमन्त्रीले ३ लाख मात्र ब्यवस्था गरेर असहयोग गरेको बताए । ‘मोरङको क्षेत्र नं. ३ को लक्ष्मीमार्गमा अन्तराष्ट्रिय स्तरको रंगशाला बन्छ । एउटा दिन आउने छ, हामीले देशको नेतृत्व गरेको दिन दुनियाँको ठूलो स्टेडियम यहाँ बन्नेछ ।’ डाक्टर शर्माले नोबेल शिक्षण अस्पताल र काठमाडौं मेडिकल कलेजमा नेपाली राष्ट्रिय क्रिकेट खेलाडीका परिवारहरुलाई एकवर्षसम्म निःशुल्क उपचार गर्ने घोषणा गर्दै भने ।
कार्यक्रममा बोल्दै नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले निजी क्षेत्रले क्रिकेटको विकासमा पुर्याएको योगदानको चर्चा गर्दै नोबेल शिक्षण अस्पतालले विश्वकप क्रिकेटमा स्थान बनाउन सफल खेलाडीहरुलाई हौसला प्रदान गरेकोमा धन्यवाद दिए । कार्यक्रममा नेपाली क्रिकेट टीमका कप्तान रोहित पौडेल, प्रमुख प्रशिक्षक मोन्टी देशाई समेतले विश्वकप छनौट खेलमा खेलाडीहरुलाई हौसला प्रदान गरेकोमा धन्यवाद दिए ।
सांसद शर्मा सञ्चालक रहेको नोबेल शिक्षण अस्पतालले नेपालमा सम्पन्न आइसिसी टी–२० विश्वकप छनौट प्रतियोगितामा उक्त पुरस्कारको घोषणा गरेको थियो । उक्त पुरस्कार आज राजधानीमा विशेष कार्यक्रम गरी प्रदान गरिएको हो ।
0 प्रतिकृया