Follow us:


Follow us

१७ भदौ २०८३, बुधवार
१७ भदौ २०८३, बुधवार


‘सरकारले २० करोड दिएर पठाओस् ९१ दिनमा एमबिबिएस सुरु गरिदिन्छु’ सांसद सुनिल शर्मा

एक्सन खबर
माघ, १४, २०८०


‘सरकारले २० करोड दिएर पठाओस् ९१ दिनमा एमबिबिएस सुरु गरिदिन्छु’ सांसद सुनिल शर्मा

काठमाडौं । सरकारले बीस करोड दिए ९१ दिनमा सप्तरीको जिल्ला अस्पतालमा एमबिबिएसको पढाई चलाएर देखाई दिने नेपाली कांग्रेसका सांसद डा.सुनिलकुमार शर्माले बताएका छन् । नेपाली कांग्रेस सप्तरी जिल्ला कार्यालयमा आयोजित अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै सांसद शर्माले सरकारले सप्तरीमा मेडिकल कलेज खोल्न आफुलाई म्याण्डेट दिएर पठाए अहिलेको जिल्ला अस्पतालमै एमबिबिएसको पढाई सूचारु गरिदिने बताएका हुन् ।

‘म प्रचण्डलाई, शेरबहादुर दाईलाई, केपी ओलीलाई रबिजीलाई उपेन्द्र यादवलाई म्यासेज दिन चाहन्छु । सरकारसँग साँच्चिकै राजविराजमा मेडिकल कलेज खोल्ने चाहना छ भने २० करोड पैसा र जिल्ला अस्पताल डिक्लिएर गरेर ९० दिनको समय दिएर मलाई पठाओस् ९१ दिनमा एमबिबिएसको कक्षा सुरु गर्छु ।’ पूर्वाञ्चल विश्वविद्यालयमा २०६२, ०६३ सालदेखि रोकिएको मेडिकल कलेज आफु निर्वाचित भएर गएपछि सूचारु गर्न पहल गरेको उदाहरण दिँदै सांसद शर्माले भने ।

पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने कार्यमा आफुले प्रधानमन्त्री प्रचण्डको हात समाएर मन्त्रिपरिषद्बाट एजेण्डा पास गर्दै सबै प्रक्रिया पुरा हुँदापनि स्थानीय एमालेका नेताहरुका कारण मेडिकल कलेज सञ्चालन हुन नसकेको भन्दै सांसद शर्माले चेतनाको स्तर सानो हुँदा समस्या पैदा हुने बताए ।

केही मान्छेहरुले तीसौं बर्षदेखि पार्टी, सत्ता र सेटिङमा कुर्सी समेत क्याप्चर गरेर बस्दा अरुले पालो नपाएको भन्दै प्रजातन्त्रको सुन्दरता नै हराएको जिकीर गर्दै वीपी कोइराला र अग्रजहरुले अहिलेको परिस्थितिका लागि नलडेको चर्चा गरे ।

पार्टीको आन्तरिक विषयमा बोल्दै सांसद शर्माले प्रजातन्त्रमा बोल्न पाइने, अधिवेशनमा फरक कुरा राख्न पाउने, बहस गर्न पाउने तर, अधिवेशन पछि एक ढिक्का भएर जानुपर्ने बताए । ‘जायज कुरा बोल्न पाइन्छ, फरक टीममा बस्न पाइन्छ, मारामारी गरेर अधिवेशनमा लड्न पाइन्छ तर, चुनाब सकिएको भोलीपल्ट सबै दुस्मनीहरु विर्सेर पार्टीभित्र, यो मन्दिरभित्र एकै ठाउँमा उभिनुपर्छ ।’

अधिवेशन सम्पन्न भइसकेपछि त्यहाँ भएका मतभेद र विवादहरु विर्सिएर अगाडी बढ्नुपर्नेमा बहिस्कार गरेर हिँड्नेहरु कांग्रेसी हुनै नसक्ने भन्दै सांसद शर्माले भने,‘कांग्रेस पार्टीको आधिकारिक मञ्चलाई बहिस्कार गर्नेहरु कांग्रेस हुनै सक्दैन । त्यो गुटको नेता हो ।’ सप्तरीमा पार्टीभित्र विचार, विवेग र चेतनाको मात्र समस्या रहेको जिकीर गर्दै सांसद शर्माले व्यक्तिको सोचलाई बृहद् बनाउनु पर्ने बताए ।

सांसद शर्मा माघ १३ गतेदेखि मधेश प्रदेसका सप्तरी, सिराहा, उदयपुर कोशी प्रदेशको ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङको यात्रामा छन् । यसअघि पूर्वी पहाडी जिल्लाहरु धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, ताप्लेजुङ, पाँचथर हुँदै इलामसम्मको यात्रा गरिसकेका उनले सो क्रममा जिल्लाका पार्टी कमिटी, विभिन्न भातृ संगठन, नेता, कार्यकर्ता र जनतासँग सात्क्षात्कार गरिरहेका छन् ।













0 प्रतिकृया