नेपाल मेडिकल कलेजका १६ जना नर्सहरुलाई सम्मान
एक्सन खबर
काठमाडौं । नेपाल मेडिकल कलेजले १६ जना नर्सहरुलाई सम्मान गरेको छ । ६२ औं राष्ट्रिय नर्सिङ दिवसको अवसरमा कलेजले २० औं वर्षदेखि सेवारत नर्सहरुलाई सम्मान गरेको हो ।
सोमबार आयोजित कार्यक्रममा कलेजका प्रबन्ध निर्देशक प्रा.डा. जैनुद्धिन अन्सारी, प्रिन्सिपल प्रा.डा. प्रमोदकुमार क्षेत्री लगायतले कलेजमा २० औं वर्षदेखि अनवरत सेवारत १६ जना नर्सहरुलाई सम्मान गरेका थिए ।
कार्यक्रममा बोल्दै कलेजका प्रबन्ध निर्देशक प्रा.डा. जैनुद्धिन अन्सारीले स्वास्थ्य संस्थाहरुको मेरुदण्ड भनेकै नर्सहरु भएको बताए । बिरामीहरुको उपचारमा दिनरात नभनी २४ सै घण्टा नर्सहरुले पुर्याएको योगदानकै कारण अस्पताल चल्न सकेको भन्दै नर्सिङ पेशामा लागेकाहरुको सम्मानीत जीवनयापनमा सरोकारवालाहरुको ध्यान जानुपर्ने बताए । प्रा.डा. अन्सारीले कलेजमा कार्यरत स्वास्थ्यकर्मी र नर्सहरुलाई सम्मानीत रुपमा काम गर्ने वातावरण बनाउनका लागि प्रशासन प्रतिबद्ध रहेको पनि जनाए ।
कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल प्रा.डा. प्रमोद कुमार क्षेत्रीले स्वास्थ्य सेवालाई सदैव प्रभावकारी बनाउन र बिरामीहरुको उपचार र रेखदेखमा नर्सहरुले पुर्याएको योगदानको चर्चा गरे । नेपाल मेडिकल कलेजलाई अहिलेको अवस्थामा ल्याई पुर्याउन नर्सिङ क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताउँदै उनले नर्सहरुलाई सहज रुपमा काम गर्ने वातावरण बनाउन कलेज प्रशासन सदैव तयार रहेको बताए ।
कार्यक्रममा अस्पताल निर्देशक डा. मोदनाथ मरहठ्ठा, मेट्रोन नविना सिंहले स्वास्थ्य क्षेत्रमा नर्सहरुले पुर्याउँदै आएको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा कलेजकी डाइरेक्टर डा. साबिहा यासमिन, प्रमुख प्रशासकीय अधिकृत ज्योति खड्का लगायत कलेजमा कार्यरत नर्स, कर्मचारीहरुको सहभागीता रहेको थियो ।
0 प्रतिकृया