आज शहीद दिवस : छैन सरकारी विदा
एक्सन खबर
काठमाडौं । आज शहीद दिवस । साताव्यापी शहीद दिवसकाे अन्तिम दिन देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । इतिहासका विभिन्न कालखण्डमा देश र जनताका लागि शहादत प्राप्त गर्ने शहीदहरूको सम्मानमा आज देशभर शहीद दिवस मनाइँदैछ । यद्यपि, शहीद दिवसकाे अवसरमा सरकारले सार्वजनिक विदा दिएकाे छैन ।
जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतहरूको सम्मानमा एक साताभर विविध कार्यक्रम गरी शहीद दिवस मनाउने गरिन्छ । आज शहीद उद्यान लैनचौरमा विशेष श्रद्धाञ्जली सभा आयोजना हुनेछ ।
शहीद दिवसका अवसरमा आज शान्तिवाटिकामा भेला भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यान्ड, मार्चपास र शहीदको तस्वीर राखिएको बग्गीसहितको प्रभातफेरी शहीद उद्यान लैनचौरमा पुगेर श्रद्धाञ्जली सभामा परिणत हुने छ । सभामा प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी र जनप्रतिनिधि र सुरक्षा अंगका प्रमुखहरुको सहभागिता रहनेछ ।
शहीद दिवसकै अवसरमा राष्ट्रपति रामचन्द्र पाैडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा लगायत विशिष्ट व्यक्तिहरूले शहीदहरू प्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
वि.सं. १९९७ माघ १० गते निरंकुश राणा शासनविरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी क्रान्ति गर्ने शुक्रराज शास्त्रीलाई टेकुस्थित खरीको रूखमा झुन्ड्याएर हत्या गरिएको थियो । सोही वर्ष माघ १३ गते सिफलमा धर्मभक्त माथेमा लाई झुन्ड्याइएको थियो भने माघ १५ गते दशरथ चन्द र गंगालाल श्रेष्ठलाई शोभा भगवतीमा गोली हानी मारिएको थियो ।
नेपालको पहिलो शहीद भने लखन थापालाई मानिन्छ । तत्कालिन समयमा मुलुकमा व्याप्त सामाजिक, जातिय विभेदकाे अन्त्यकाे उद्देश्यले राणा शासनको विरुद्धमा जनसंगठन वा सशस्त्र दल गठन गर्ने लखन पहिलो व्यक्ति थिए । विस १९३३ फागुन २ गतेका दिन गाेरखाकाे बुङकोटमा ४२ वर्षकाे उमेरमा राणा शासकले झु्ण्ड्याएर मारेका थिए । त्यसबखत थापासहित ७ जनालाई झुण्ड्याइएकाेमा उनले सबैभन्दा पहिले सहादत प्राप्त गरेकाले नेपालकाे प्रथम शहीद भनिएकाे हाे ।
तथापि, राज्यले लखन थापा मगरलाई सहादत प्राप्त गरेको एक सय ३९ वर्षपछि २०७२ साल असोज ३ गते नेपालकाे प्रथम शहीद घोषणा गरेकाे हाे ।
२०५२ सालमा तत्कालिन माओवादीकाे १० वर्ष जनयुद्धमा सहादत प्राप्त गरेका, जनान्दाेलन २०६२/०६३ मा सहादत प्राप्त गरेका तथा मधेश आन्दाेलन र पछिल्लाे समय भएका विभिन्न आन्दाेलनहरूमा ज्यान गुमाएकाहरूलाई शहीद घाेषणा गरिएकाे छ ।
तथापि, देश र जनताका पक्षमा ज्यान गुमाएकालाई भन्दा झैझगडा, दुर्घटना र अपराधमा संलग्नहरूले ज्यान गुमाउँदा समेत शहीद घोषणा गरिने प्रचलनले वास्तविक शहीदको अवमुल्यन भइरहेकाे भन्दै चाैतर्फी विराेधहरू भइरहेका छन् ।
सरकारले शहीद दिवस विशेष कार्यक्रमसहित मनाउने घोषणा गरे पनि सार्वजनिक विदा भने दिएको छैन । शहीद दिवसको अवसरमा विगतमा दिने गरिएको सार्वजनिक विदा संघ सरकारले कटौती गरेकोमा २०८१ सालदेखि भने शहीद दिवसको दिन सार्वजनिक बिदा दिने निर्णय गरिएकाे छ ।
0 प्रतिकृया