शहीद दिवसका अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीले के भने ?
एक्सन खबर
काठमाडौँ । शहीद दिवसकाे अवसरमा राष्ट्रपति रामचन्द्र पाैडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतले शहिदहरू प्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूकाे मर्म र आकाङ्क्षा साकार पार्न सबै एकजुट भएर अगाडी बढ्न सन्देश दिएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना सन्देश जारी गर्दै संविधान र गणतन्त्रले परिलक्ष्य गरेको मर्मलाई आत्मसात् गर्दै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर भए मात्रै शहीदको सम्मान हुने बताएका छन् ।
नेपाल र नेपाली जनताको स्वाधीनताका लागि सहादत प्राप्त गरेका शहीदहरूको आकाङ्क्षा साकार पार्न सबैले आ–आफ्नातर्फबाट इमान्दारीका साथ उल्लेखनीय भूमिका खेल्नुपर्नेमा जोड दिँदै राष्ट्रपति पाैडेलले शहीदहरूको बलिदानले नै संविधानमार्फत मुलुकले सर्वोत्कृष्ट शासन प्रणाली सङ्घीय लोकतान्त्रिक गणतन्त्र पाएको उल्लेख गरेका छन् ।
संविधानले निर्दिष्ट गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रले नागरिकको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक स्वतन्त्रतासहित निमुखालाई न्याय र विपन्नलाई आयको परिलक्ष्य राखेको भन्दै उनले नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नेशहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठलगायत सम्पूर्ण ज्ञात–अज्ञात अमर शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।
यस्तै, शहीद दिवसकै अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा सङ्घर्ष गर्ने क्रममा बलिदान गर्ने शहीदहरू विगत, वर्तमान र भविष्यका निम्ति प्रेरणाका स्रोत र पथप्रदर्शक रहिरहने बताए । उनले देश र जनताको मुक्ति एवं परिवर्तनका निम्ति शहीदले देखेका सपना र लिएको अठोटलाई शीरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभार पूरा गर्न सङ्कल्प गर्नुपर्ने बताए ।
प्रधानमन्त्री दाहालले शहीदको योगदानलाई सम्मान गर्दै उनीहरूको योगदान र कृति चीर स्थायी तुल्याउने एवं शहीद परिवारको उचित सम्मान, संरक्षण र जीवनवृत्तिका निम्ति समर्पित हुने दिनका रूपमा शहीद दिवस रहिआएको बताए ।
प्रधानमन्त्री दाहालले आफ्नो पहिचान र अधिकारका निम्ति विभिन्न वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायको नेतृत्वमा भएका न्यायपूर्ण आन्दोलनको बलमा नै वर्तमान संविधान र लोकतान्त्रिक व्यवस्था प्राप्त भएको उल्लेख गर्दै वर्तमानमा प्राप्त उपलब्धिको रक्षा र सुदृढ गर्दै थप अधिकारका निम्ति समर्पित हुनु नै शहीदहरूप्रति सच्चा श्रद्धाञ्जली हुने बताए ।
शहिद दिवसकै अवसरमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पनि सन्देश जारी गरेका छन् । उनले लोकतान्त्रिक पद्धतिमा मात्र व्यक्तिको वैयक्तिक स्वतन्त्रता र स्वाभिमानको रक्षा हुने उल्लेख गरेका छन् ।
‘लोकतन्त्रको एउटा सबल पक्ष समानता हो । समान हक, समान अवसर र समान न्याय, सुदृढ र सबल लोकतन्त्रबाट मात्रै नेपाल एक सुन्दर, शान्त, समुन्नत र समतामूलक राष्ट्रमा परिणत हुनेछ भन्ने परिकल्पना र विश्वासमा देशभक्त वीर सपुतहरूले आफूलाई सहर्ष उत्सर्ग गरेका थिए’, सभापति देउवाले सन्देशमा उल्लेख गरेका छन् ।
0 प्रतिकृया