म भागिरहन्छु
प्रश्नसँग
प्रश्नले खोज्ने उत्तरसँग
स्वतः उम्रिने प्रतिप्रश्नसँग
त्यसपछि दिनुपर्ने जवाफसँग
आपसी छलफलसँग
अनि बिना संवाद सिध्याइरहन्छु
जिउनु पर्ने एउटा जिन्दगीलाई
म डराइरहन्छु
तिम्रो अभावसँग
आफ्नो लगावसँग
मनका भावसँग
जिब्रोमा आएका जवाफसँग
अनि पोख्दै नपोखी सुकाइरहन्छु
जिउनु पर्ने एउटा जिन्दगीलाई
म सुखलाई दोबाटोमा कुराइरहन्छु
खुसीहरूलाई संघारबाहिर पर्खाइरहन्छु
दैलोबाहिर ठेलिरहन्छु
उज्यालो बनेर चिह्याउने रहरहरूलाई
च्यातेर धुँजा धुँजा पारिरिहन्छु आशाहरुलाई
घाँटी निमोठेर मारिरहन्छु कलिला सपनाहरूलाई
अनि विवशताको सन्दुकभित्र बन्धकी राखिदिन्छु
जिउनु पर्ने एउटा जिन्दगीलाई
म तर्किरहन्छु प्रेमसँग
तर्सिन्छु माया अनि स्नेहसँग
एकान्तबाट भिडमा भाग्छु
सक्दिन भिड बन्न
भागेर फेरि एकान्तमै फर्किन्छु
छेकिरहन्छु आफैंलाई एक्लोपनको पर्खाल उभ्याएर
अनि रनभुल्लमै अल्झाइरहन्छु
जिउनु पर्ने एउटा जिन्दगीलाई
अप्ठ्याराका मरुभूमि अँजुलीभरि
बाध्यताका जञ्जिर खुट्टाभरि
कुन्ठाका समुद्र दिमागभरि
कहिले नफक्रिने उन्यु रोपेर मनभरि
कोपिला टुसाउने दिनको
झुठो कल्पनामा बिर्सिरहन्छु
जिउनु पर्ने एउटा जिन्दगीलाई
0 प्रतिकृया