सांसद सुनिल शर्माकाे प्रश्नः हातमा एक रुपैयाँ नभएका भिखारीलाई मात्रै ल्याएर टुरिस्ट इण्डस्ट्री चलाउने हो ?
कृष्णसिं धामी
काठमाडाैं । पर्यटकहरूले २५ हजार भन्दा बढी भारतीय मुद्रा बोकेर नेपाल आउन नमिल्ने निर्णय तत्काल संशोधन गर्न नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माले माग गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समय लिएर बाेल्दै सांसद शर्माले नेपाल भ्रमणमा आउने पर्यटकलाई २५ हजार भन्दा बढी रकम लिएर नेपाल छिर्न बन्देज लगाइनु गलत भएकाे बताएका हुन् ।
गत फागुन ३ गते त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्कीका कार्डियोलोजिस्ट अब्दुल्लाह मिनीलाई ९६ हजार भारतीय रकम ल्याएकोमा पक्राउ गरिएकोबारे सरकारको ध्यानाकर्षण गराउँदै सांसद शर्माले २४ घण्टाभित्र २५ हजार भारतीय रकम भन्दा बढी बोकेर आउन नपाइने निर्णय संशोधन गर्न माग गरे ।
नेपाललाइ पर्यटकमैत्री देश बनाउन र पर्यटन क्षेत्रलाई चलायमान बनाउनका लागि तत्काल २५ हजार माथि भारतीय रूपैंयाकाे व्यवस्था परिमार्जन गर्न आवश्यक रहेको बताए । सांसद शर्माले भने, '२५ हजार बढी आइसी टुरिस्टहरूले चाहे सडकबाट आउँदा हाेस् या एयरलाइन्सबाट आउँदा हाेस् बाेक्न नपाउने व्यवस्था हामीले गरिरहँदा खेरी नेपालकाे टुरिजम इन्डष्ट्रि फस्टाउनकाे निम्ति बनाएकाे हाे या, नेपालकाे हाेटल र इन्डष्ट्रि डुवाउन बनाएकाे हाे ?'
यसै प्रसंगमा उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको घटना पनि संसद्मा सुनाउँदै भने, 'फागुन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा घटना भयो । एकजना टर्कीबाट आउनुभएको अन्तर्राष्ट्रिय स्तरको कार्डियोलोजिस्ट गंगालाल अस्पतालकाे निमन्त्रणामा आउँदै हुनुहुन्थ्यो । केही नयाँ प्रविधियुक्त कामहरू भइरहेका थिए । उहाँलाई गिरफ्तार गरियो । र, गिरफ्तार गर्नुको कारण उहाँले ९६ हजार आइसी बोकेर आउनुभएको रहेछ । त्यो कारणले उहाँलाई गिरफ्तार गरियो । मैले यो सदनमा पटक-पटक आवाज उठाएको छु, २५ हजार भन्दा बढी आइसी पर्यटकहरूले चाहे सडकबाट आउँदा होस् वा एयरलाइन्सबाट आउँदा होस्, बोक्न नपाउने व्यवस्था हामीले गरिरहँदाखेरी नेपालको पर्यटन क्षेत्र फस्टाउनको निम्ति हामीले बनाएको हो वा नेपालका होटल उद्योगहरू डुबाउनेका निम्ति बनाएको हो ?' सरकारलाई प्रश्न गर्दै सांसद शर्माले भने, 'सरकार, यो देशका प्रधानमन्त्री, यो राज्य सत्तालाई यो कुरा थाहा छ की छैन ? वा थाहा पाएर पनि हामीले पटक-पटक भन्दा पनि सुतेर किन बसेको ? अब्दुल्लाह मिनी भन्ने जसलाई समातिएको हो, प्रमाण मसँग छ । उनले त्यहाँबाट छुट्दा ४ लाख ६१ हजार २३२ रुपैयाँ पैसा नेपालभित्र उनका साथीहरूसँग सापटी लिएर धरौटी राखेर छुट्नुभयो ।'
सांसद शर्माले सरकारलाई कस्ता पर्यटक ल्याउन खोजेको हो भन्ने प्रश्न गरेका छन् । 'म प्रश्न सोध्न चाहन्छु यो मुलुकको प्रधानमन्त्रीलाई, तपाईंले कस्तो टुरिस्ट ल्याउन खोजेको हो ? २५ हजारभन्दा बढी आइसी बोक्न नपाउने, अनि यो देशमा हातमा एक रुपैयाँ पैसा नभएका भिखारीलाई मात्रै ल्याएर टुरिस्ट इण्डस्ट्री चलाउने हो ? होइन भने यो कानुन वा नियम २४ घण्टामा परिवर्तन गर्नुपर्छ ।’
उनले पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज ल्याउने भनेर मन्त्रिपरिषद्ले निर्णय गरी, शिक्षा, स्वास्थ्य र विश्वविद्यालय विच सहमति भएपनि आजसम्म एमविविएस कक्षा सञ्चालन हुन नसकेकाे पनि जनाए । साथै, उनले ६ हजार नेपाली विद्यार्थी स्वदेशमा एमविविएस पढ्न नपाएर विदेशिएकाे जिकिर समेत गरे ।
उनले स्वदेशमा नर्स, डाक्टरहरू पाउन छाडिसकेकाे र मेडिकल सिस्टम क्राइसिसमा गइसकेकाे जनाउँदै वर्षाैंदेखि अरबाैं खर्च गरेर पूर्वाधार पुरा गरेर मेडिकल कलेज सञ्चालन गर्न तत्पर रहेका झापाकाे विएण्डसी र काठमाडाैंकाे मनमाेहन मेडिकल कलेज लगायतलाई सम्बन्धन दिनुपर्ने समेत उल्लेख गरे ।
सांसद शर्माले बर्तमान सरकारकाे नेतृत्व गरिरहेकाे नेकपा माओवादी र प्रधानमन्त्रीले नेपाली कांग्रेसकाे काँधमा बन्दुक राखेर जनतालाइ वेवकुफ बनाइरहेकाे पनि बताए । सरकार गैरजिम्मेवारपूर्ण ढंगबाट चलिरहेको भन्दै सदनमा समेत सत्तापक्षका सांसदहरूलाइ बाेल्न नदिने अवस्था रहेकाे, न्यायालय स्वतन्त्र नभएकाे प्रसंग पनि उठाए । न्यायालयमा राजनीतिक दलका नेताहरूले खल्तीबाट न्यायाधिश नियुक्त गरेकाे सांसद शर्माकाे भनाइ छ ।
0 प्रतिकृया