Follow us:


Follow us

६ जेठ २०८३, बुधवार
६ जेठ २०८३, बुधवार


प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुई तिहाई बहुमत

एक्सन खबर
साउन, ६, २०८१


प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुई तिहाई बहुमत

काठमाडौं । प्रमुख दल कांग्रेस–एमाले लगायत गठबन्धन सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दुइ तिहाइ विश्वासको मत पाउनुभएकाे छ । आइतबार सङ्घीय संसद्को बैठकमा विस्वासकाे मत लिँदा प्रधानमन्त्री ओलीका पक्षमा १८८ मत खस्याे ।

गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका ओलीले ३० दिनभित्र संसद् बैठकबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार  आइतबार विश्वासको मत लिनु भएको हो । संसद्मा मत विभाजनको क्रममा उहाँलाई दुई तिहाईको समर्थन जुटेको छ । प्रधानमन्त्री ओलीको पक्षमा १८८  मत खस्दा विपक्षमा ७४ मत खस्यो ।

२६३ जना सांसदहरुको उपस्थिति रहेकाे संसदमा ओलीको पक्षमा कांग्रेस, एमाले, जसपा, जनमत पार्टी, लाेसपा, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदले विस्वासकाे मत दिए । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मतका लागि १ सय ३८ सांसदको समर्थन आवश्यक पर्दछ ।

संविधान संशोधनको मुख्य ऐजेण्डासहित गठन भएको ओली सरकारलाई संविधान संसोधनका लागि प्रतिनिधिसभामा १ सय ८४ सांसदको समर्थन आवश्यक पर्दछ । संसद्का दुई ठुला दल काँग्रेस र एमालेले संविधानको धारा ७६ (२) अनुसार सरकार गठन गर्न सहमति गरी त्यसलाई समर्थन गर्न अन्य राजनीतिक दललाई आह्वान गरेका थिए ।

प्रधानमन्त्री ओलीलाई आफ्नै दल नेकपा (एमाले), नेपाली कांग्रेस, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टीले मत दिएका छन् । स्वतन्त्र सांसद अमरेशकुमार सिंह र योगेन्द्र मण्डलले पनि प्रधानमन्त्रीलाई मत दिनुभएको छ ।

प्रस्तावको विपक्षमा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपा (एकीकृत समाजवादी) ले मत दिएका छन् । राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले पनि विपक्षमा मतदान गर्नुभयो । नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल भने मतदानमा तटस्थ बस्नुभयो । आजको बैठकमा कुल २७५ मध्ये २६३ जना सांसदको उपस्थिति रहेको थियो ।

यसैबीच प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा दुईतिहाइ बहुमतबाट विश्वासको मत पाएपछि विश्वासको मत दिएकोमा सबै सांसदलाई धन्यवाद दिनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्रीले सबै प्रतिनिधि सभाका सदस्यलाई धन्यवाद दिनुभएको छ ।  प्रधानमन्त्रीले लेख्नुभएको छ–‘संसद्ले प्रधानमन्त्री पदमा विश्वासको मत दिएको छ, यसलाई आफ्नो बुद्धि, विवेक र क्षमताले भ्याएसम्म सदुपयोग गर्ने छु, प्रतिनिधिसभाका सबै माननीय सदस्यज्यूहरूलाई धन्यवाद ।’

नेकपा (एमाले) र नेपाली कांंग्रेसबीच गत असार १७ गते भएको सात बुँदे सहमति अनुसार नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली असार ३० गते प्रधानमन्त्री नियुक्त हुनुभएको थियो ।यसअघि प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा विश्वासको मतका लागि प्रस्ताव राख्नुहुँदै आफ्नो नेतृत्वको वर्तमान सरकार जनतामा छाएको निराशा हटाउने उद्देश्यका साथ गठन भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुुभयो– ‘जनतामा उत्साहको सञ्चार गर्न र देशलाई तीब्र आर्थिक वृद्धिको दिशामा लैजान अहिलेको सरकार बनेको हो ।’ विकास निर्माणको काममा रहेको बेथिति अन्त्य, आर्थिक रूपमा मितव्ययी बन्दै राज्यको तर्फबाट खर्च गर्ने क्षमता वृद्धि तथा जनअपेक्षा अनुसार कानुनमा सुधार गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भ्रष्टाचार आफू पनि नगर्ने र अरूलाई पनि गर्न नदिने बताउनुभयो । उहाँले भन्नुभयो–‘भ्रष्टाचार म गर्दिन, अरूलाई पनि गर्न दिन्न । म फेरि भन्छु, भ्रष्टाचार म गर्दिन, अरूलाई पनि गर्न दिन्न ।’ प्रधानमन्त्री ओलीले जुनसुकै कालखण्डमा भएका भ्रष्टाचार भए पनि तिनका दोषीलाई उन्मुक्ति नदिने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सदनसमक्ष आफ्नो सरकारका पाँच प्राथमिकता पेश गर्दै ति प्राथमिकता साकार पार्न विश्वासको मत दिन आग्रह गर्नुभयो । यो सरकार काम भइरहेको छ भन्न होइन, थालेको काम सकियो भनेर सुनाउन आतुर रहेकोे प्रधानमन्त्रीले बताउनुभयो । उहाँले सम्बोधनका क्रममै नेकपा (एमाले) र नेपाली कांग्रेसबीच सरकार गठनका लागि भएको सात बुँदे सहमति पढेर सुनाउनुभयो ।

उहाँले देशभर बाढी–पहिरोलगायत विपद्को चपेटामा परेकालाई उद्धार तथा राहत उपलब्ध गराउने उल्लेख गर्दै विपद्का घटनामा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुभयो ।













0 प्रतिकृया