आज आश्विन शुक्ल सप्तमीः घरघरमा फुलपाती भित्र्याइँदै
काठमाडाैं । बडादशैंकाे साताैं दिन आज घरघरमा विधिपूर्वक फुलपाती भित्र्याइँदैछ । दशैंको पहिलो दिन जस्तै सप्तमीकाे पनि विशेष महत्व छ । सप्तमी तिथिको दिन दशैंको लागि पूजा सामग्री स्वरूप फूलपाती आगनमा प्रवेश गराउने कार्य हुन्छ ।
यस दिन काठमाडाैंकाे सदर टुँडिखेलमा बढाइँ भएपछि हनुमान ढाेका स्थित दशैंघरमा गाेरखा दरबारबाट ल्याइएकाे फूलपाती भित्र्याइन्छ । फुलपातीमा केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक र जयन्ती यी नौ प्रकारका पातहरूलाई पूजी प्रत्येकको नौका दरले दुर्गापूजा गरेको स्थानमा भित्र्याइन्छ ।
यी नौ पातमा क्रमशः ब्रह्माणी, रक्तचण्डिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कार्तिकी देवीलाई एक एक गरी आवाहन गरेर सोह्र सामग्रीले पुजिन्छ । यस्तै, इन्द्र, शिव, विष्णु एवं श्रीरामले वृतासुर, त्रिपुरासुर, मधुकैटभ तथा रावण वधको लागि क्रमैसँग नवरात्र व्रत गरेकाे शाष्त्रमा उल्लेख छ ।
यस दिन विशेष गरेर महासरस्वती तथा पुस्तक, कापी, कलम अनि मसीदानी आदिको पनि पूजा गरिन्छ । किसानहरू यस दिन खेतमा गई चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्र्याउँछन् । साथै यसै दिन गोरखा दरबारको दशैंघरबाट ल्याइएको फूलपाती राजधानी -जमल) ल्याई प्रोसेशन र बढाइँ साथ हनुमानढोका भित्र्याइन्छ ।
राजतन्त्र रहुञ्जेलसम्म हनुमानढोका दरबारको दसैंघरमा फूलपाती भित्र्याउने क्रममा राज्यप्रमुखका नाताले राजाको पनि उपस्थिति रहने गरेकामा गणतन्त्रको स्थापनापछि भने संस्कृति मन्त्री उपस्थित हुने गरेको छ ।
यस वर्षको फूलपाती बिहीबार अपराह्न भित्र्याइने कार्यक्रम रहेको छ । दरबार हेरचाह अड्डाले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री, काठमाडौंका प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिलाई निमन्त्रणा गर्दै आएको छ ।
0 प्रतिकृया