स्वास्थ्य स्वयंसेविकाहरूले कामका लागि निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने
काठमाडाैं । अबदेखि स्वास्थ्य स्वयंसेविकाहरूले कामका लागि निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको पहलमा यातायात व्यवसायीहरूले स्वास्थ्य प्रयोजनका लागि सार्वजनिक यातायातका साधनमा भाडा नलिने समझदारी कायम भएकाे छ ।
शुक्रबार स्वास्थ्य मन्त्रालयमा मन्त्री पौडेलको उपस्थितिमा यससम्बन्धी समझदारी भएको छ । समझदारी अनुसार कार्तिक १५ गतेबाट आमनागरिकको स्वास्थ्य सेवामा क्रियाशील महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले आफ्नो कार्यक्षेत्र भित्र तोकिएको कामको सिलसिलामा आवतजावत गर्न निःशुल्क यातायात सुविधा पाउने छन् ।
केही समयअघि विपद् प्रभावित काभ्रेको रोशी क्षेत्रका महिला स्वास्थ्य स्वयंसेविकाहरूसँग सेवाको कदरस्वरुप यातायात निःशुल्क बनाउने कार्यमा लागिरहेको बताएका थिए । साेही अनुरूप मन्त्री पौडेलले यातायात व्यवसायी राष्ट्रिय महासंघसँग उनीहरूलाई कामका सिलसिलामा हुने यातायात निःशुल्क गरिदिन आग्रह गरेका थिए ।
यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले आफूहरूलाई मन्त्री पौडेलले विगतदेखि नै निःशुल्क सुविधाका लागि आग्रह गरेकोले व्यवसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सुविधा उपलब्ध गराइने बताए । महिला स्वास्थ्य स्वयंसेविकाहरुको छाता संस्थाकी अध्यक्ष बसन्ती महर्जनले महिला स्वास्थ्य स्वयंसेविकाहरु हकमा महत्वपूर्ण निर्णय भएको बताइन् ।
यस सम्झौताबाट ५२ हजार महिला स्वास्थ्यस्वयंसेविका लाभान्वित हुने देखिएकाे छ । महिला स्वास्थ्य स्वयंसेविकाहरु न्यून सेवा सुविधामा काम गरिरहेका छन् । मन्त्री पाैडेलले स्वास्थ्यस्वयंसेविकाहरूकाे हकमा थप क्षमता विकासका लागि आवश्यक तालिम तथा सीप मूलक कार्यक्रमको प्याकेज समेत चाँडै सार्वजनिक गरी सञ्चालन गर्ने बताएका छन् ।
0 प्रतिकृया