आजदेखि दाेश्राे ठूलाे चाड तिहार सुरू, भाइटिकाकाे साइत कति बेला ?
काठमाडाैं । आजदेखि नेपालीहरूकाे दाेश्राे ठूलाे चाड तिहार सुरू भएकाे छ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरू हुने यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रूपमा आरम्भ भएकाे हाे । आज बिहान ११:०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बिहान ११:०१ बजेपछि कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाउनुपर्ने जनाएको छ । यमदीप दान भने भोलि अर्थात् बुधबारदेखि सुरू हुनेछ । काग तिहार पनि कात्तिक १४ गते बुधबार नै परेको छ ।
यमपञ्चकका अवसरमा यमदीप दान गरे यम यातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । धनवन्तरी जयन्ती पनि कात्तिक १४ गते बुधबार परेकाे छ भने, बिहीबार कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको छ ।
कात्तिक १५ गते बिहीबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइने र बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले बताए । बिहीबार बिहान अरुणोदयकालअघि अपामार्ग (नरक स्नान) सहित स्नान गरिन्छ ।
कात्तिक १५ गते दिउँसो १५:१४ बजेसम्म चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले लक्ष्मीपूजा पनि यसै दिन गर्नुपरेको समितिका अध्यक्ष प्रा. अधिकारीले बताए । रातमा औंसी तिथि परेका दिन लक्ष्मीपूजा गर्ने शास्त्रीय विधि छ । यस वर्ष कात्तिक १६ गते शुक्रबार औंसी तिथि बेलुकी १७:१५ बजेसम्म परेको छ ।
गाईगोरु पूजा कात्तिक १७ गते शनिबार परेको छ । हलितिहार, गोवर्द्धन पूजा, बलीपूजा र आत्म (म्ह) पूजा पनि यसैदिन परेको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार नेपाल संवत् ११४५ पनि यसै दिनदेखि सुरू हुन्छ ।
भाइटीकाकाे साइत ११:३७ बजे
कात्तिक १८ गते आइतबार भाइटीका परेकाे छ । बिहान ११:३७ बजे भाइटीकाको शुभ साइत रहेको छ । भाइटीका पश्चिम मोहडा गरेर गर्नुपर्ने छ । सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् हुने छ । राज्य सञ्चालकले भने साइतमा टीका लगाउनुपर्छ । भाइपूजा र नेवारी भाषामा किजापूजा भनिने पर्व कात्तिक १८ गते नै गरिन्छ । बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या छैन ।
0 प्रतिकृया