Follow us:


Follow us

३० असोज २०८२, बिहिवार
३० असोज २०८२, बिहिवार


सांसद भगबती चाैधरीलाई आइकोनिक वुमन अवार्ड

एक्सन खबर
असार, १७, २०८२




सांसद भगबती चाैधरीलाई आइकोनिक वुमन अवार्ड

काठमाडौं । नेपाली महिला नेतृत्व र सशक्तिकरणको क्षेत्रमा दीर्घकालीन योगदान पुर्याउँदै आएकी पूर्वमहिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा प्रतिनिधिसभा सदस्य भगबती चौधरी ‘आइकोनिक वुमन अवार्ड २०२५’ बाट सम्मानित हुनु भएकाे छ । यो सम्मान अन्तर्राष्ट्रिय महिला संसद (International Women's Parliament) ले संयुक्त अरब इमिरेट्स (UAE) मा आयोजना गरेको विशेष समारोहमार्फत प्रदान गरिएको हो । 

समारोहमा चौधरीको योगदानको उच्च मूल्याङ्कन गर्दै महिला अधिकार, समाजसेवा, उद्यमशिलता र नेतृत्व विकासमा उहाँले देखाएको सक्रियतालाई उल्लेख गरिएको थियो । अवार्ड प्रदान समारोहमा प्रोजेक्ट १०० की अध्यक्ष म्कोनडिवा र अन्तर्राष्ट्रिय महिला संसदकी अध्यक्ष मनिता घिमिरेले संयुक्त रूपमा चौधरीलाई सम्मान प्रदान गरेका थिए ।

कार्यक्रममा चौधरीले यो सम्मान सम्पूर्ण नेपाली महिलाहरूको नाममा स्वीकार गर्ने बताउँदै भन्नुभयाे, “म यो सम्मानलाई मेरो व्यक्तिगत उपलब्धि भन्दापनि नेपाली महिलाको सामूहिक यात्रा र उनीहरूको संघर्षको प्रतीकको रूपमा लिन्छु । महिलाको आवाज र पहिचान अझ सशक्त रूपमा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न म निरन्तर क्रियाशील रहँदै आइरहेकी छु र यसले झनै ऊर्जा दिएको छ ।”

सांसद चौधरीले संसदभित्र र बाहिर दुवै स्थानमा महिला अधिकार, लैङ्गिक समानता, शिक्षा, स्वास्थ्य, उद्यमशिलता र स्थानीय विकासजस्ता विषयहरूमा निरन्तर पैरवी गर्दै आउनु भएकाे छ । उहाँले नेतृत्व गरेको विभिन्न पहलहरूले ग्रामीण भेगका महिलाहरूलाई स्वरोजगार, वित्तीय साक्षरता, तथा सामाजिक जागरणतर्फ उन्मुख गराएको छ ।

उहाँको नेतृत्वमा सञ्चालनमा आएका महिला उद्यमशीलता कार्यक्रम, कानुनी सचेतना अभियान तथा बालिका शिक्षा प्रवर्द्धन कार्यक्रमले राष्ट्रिय स्तरमै उदाहरणीय प्रभाव पारेका छन् । अन्तर्राष्ट्रिय महिला संसद एक प्रतिष्ठित अन्तर्राष्ट्रिय मञ्च हो, जसले ५० भन्दा बढी देशका नेतृहरू, नीति निर्माता, उद्यमी तथा सामाजिक परिवर्तनकर्मीहरूलाई एकै ठाउँमा ल्याएर, महिला सशक्तिकरण र समावेशी विकासमा छलफल, सहकार्य र नीति निर्माणको अवसर प्रदान गर्दै आएको छ ।

संगठनले हरेक वर्ष विभिन्न क्षेत्रका उत्कृष्ट महिला नेतृत्वकर्तालाई सम्मान गर्दै उनीहरूको योगदानलाई विश्वमाझ उजागर गर्ने गर्छ ।पूर्वमन्त्री चौधरीलाई प्राप्त ‘आइकोनिक वुमन अवार्ड’ नेपाली महिलाको सामाजिक, राजनीतिक र आर्थिक सशक्तिकरणको क्षेत्रमा ऐतिहासिक उपलब्धि मानिएको छ । यसले अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचानलाई अझ सुदृढ बनाएको छ भने, भावी पुस्तालाई नेतृत्वमा अघि बढ्न प्रेरणा पनि दिएको छ ।














0 प्रतिकृया