Follow us:


Follow us

१० असार २०८३, बुधवार
१० असार २०८३, बुधवार


‘१० हजार मेडिकल विद्यार्थी ल्याएर १ खर्ब रूपैंया भित्र्याउनु पर्छ’ काेषाध्यक्ष बतास

एक्सन खबर
साउन, २४, २०८२


‘१० हजार मेडिकल विद्यार्थी ल्याएर १ खर्ब रूपैंया भित्र्याउनु पर्छ’ काेषाध्यक्ष बतास

काठमाडौँ । निजी मेडिकल कलेज तथा डेण्टल कलेजका कोषाध्यक्ष शान्तराम बतासले नेपालमा १० हजार मेडिकल विद्यार्थी भित्र्याउन सके वार्षिक १ खर्ब रुपैयाँ रेभिन्यु भित्र्याउन सकिने बताउनु भएकाे छ । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो दाबी गर्नु भएकाे हाे । 

उहाँले नेपालमा पर्यटन क्षेत्रबाट गत वर्ष ७५ अर्ब मात्रै रेभिन्यु भित्र्याउन सकेको र १० हजार मेडिकल विद्यार्थीलाई ल्याउन सके ५० अर्ब रेभिन्यु भित्र्याउन सकिने बताउनु भयाे । अहिलेको नेपालको मेडिकल पूर्वाधारले ५ हजार विदेशी विद्यार्थीलाई धान्न सक्ने बताउँदै उहाँले अझ दुई चरणमा अध्ययन गराउन सके फाइदा हुने जिकीर गर्नुभयाे । मेडिकल पर्यटनले नेपालको आर्थिक स्तर माथि उठाउन मद्दत पुग्ने उहाँको भनाइ छ । 

मेडिकल विद्यार्थीका लागि कोटा सिस्टम खोलिदिनुपर्ने उहाँको भनाइ छ । साथै अनलाइन एप्लिकेसनको व्यवस्था हुनुपर्ने समेत उहाँले बताउनु भयाे । ‘५ हजार विदेशी विद्यार्थी अहिलेको मेडिकल पूर्वाधारले धान्छ । त्यसमा डबल सेसन गरिदिनुपर्छ । संसारभर डबल सेसन पढाइन्छ । न्यूनतम पाँच हजार ल्याऔँ । सरकारी अस्पतालमा पनि डबल सेसन गर्ने हो भने आन्तरिक रूपमा आर्थिक रूपमा पनि सबल हुन्छ । देशमा पनि आन्तरिक पर्यटक, मेडिकल पर्यटकले ठुलो टेवा पुग्छ ।’ 

उहाँले थप भन्नुभयाे, ‘थोरैमा पाँच हजार र धेरैमा १० हजार विद्यार्थी ल्याउन सक्छौँ । पूर्वाधार राम्रो, गुणस्तरीय शिक्षाका कारण यहाँ मेडिकल विद्यार्थी आउने छन् । हाम्रो कोटा सिस्टम छ, त्यो खोलिदिनुपर्छ । हामीले कलेजमा अनलाइन एप्लिकेसन गर्नुपर्छ । टुरिजमबाट नेपालमा हुने रेभिन्यु भनेको गत वर्ष करिब ७५ अर्ब मात्रै हो । हामीले ५ हजार विद्यार्थी ल्याउने हो भने ५० अर्ब ल्याउन सक्छौँ । १० हजार विद्यार्थी ल्याउन सक्छौँ त्यो भनेको १ खर्ब हो ।’ 

नेकपा एमालेकी सांसद ईश्वरी घर्तीले चिकित्सा शिक्षामा सरकारले कति लगानी गरेको छ ? र कसरी अझ प्रभावकारी बनाउने भन्नेबारेमा सोच्न जरुरी रहेको बताउनु भयाे । उहाँले लगानी प्रभावकारी रूपबाट कार्यान्वयन गर्न जरुरी रहेको बताउँदै भन्नुभयाे, ‘हामीले नेपालको चिकित्सा शिक्षामा कति लगानी गरेका छौँ ? हामीले गरेको लगानी कति प्रभावकारी छ । हाम्रो लगानी प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छ कि छैन ? अब हामी आगामी दिनमा यस्ता चिकित्सा शिक्षामा लगानी गर्ने क्रममा नेपाल सरकारले भूमिका कसरी बढाउने भन्ने हो ।’

कार्यक्रममा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा.डा. चोपलाल भुसालले नेपाललाई चाहिने मेडिकल जनशक्तिको अध्ययन गरी आवश्यक भन्दा बढी उत्पादन भए मात्रै बाहिर पठाउनुपर्ने बताउनु भयाे । नेपालले बाहिर जनशक्ति पठाउने भन्दा पनि बाहिरबाट विद्यार्थी ल्याएर चिकित्सक उत्पादन गर्न जरुरी रहेको भन्दै उहाँले कसरी बाहिरबाट बढी विद्यार्थी ल्याउने भन्ने कुरा प्राथमिकतामा पर्नुपर्ने तर्क गर्नुभयाे । यसमा राष्ट्रले एउटा नीति बनाएरै अघि बढ्नुपर्ने जरुरी रहेको उहाँकाे भनाइ छ । ‘हाम्रो पोलिसीमा हामीलाई कति मेडिकल जनशक्ति चाहिने ? बाहिरबाट कसरी बढी विद्यार्थी ल्याउन सकिन्छ, त्यसलाई प्राथमिकता दिनुपर्छ । हामी बङ्गलादेश गएर पढिरहेका छौँ, किन जाने हामी ? किन रसिया, किन फिलिपिन्स जाने ? किन यहाँ पढ्न नपाउने ? त्यो कुरामा पनि राष्ट्रले एउटा नीति बनाउनुपर्छ । त्यत्तिकै एनओसी दिने पठाइदिने गरेर भएन । यहीँ रोक्ने व्यवस्था गर्नुपर्छ । कोटाअनुसार यहाँ ल्याउने व्यवस्था गर्नुपर्छ । मेडिकल कलेजहरू सित्तैमा खोलेर कसरी सस्टेन हुन्छन् ।’ अध्यक्ष प्रा.डा. भुसालले भन्नुभयाे ।

अध्यक्ष भुसालले नो अब्जेक्शन लेटर दिएर बाहिर पठाउने काम बन्द गर्नुपर्ने भन्दै यहीँ उपयोग गर्ने वातावरण बनाउन जरुरी रहेको समेत बताउनुभयाे । -न्युज एजेन्सी नेपाल













0 प्रतिकृया