Follow us:


Follow us

५ असार २०८३, शुक्रवार
५ असार २०८३, शुक्रवार


१ लाखभन्दा बढी विद्यार्थी ननग्रेड, १७ हजारभन्दा बढीले ल्याए ३.६१ माथिको जीपीए

एक्सन खबर
असार, ५, २०८३


१ लाखभन्दा बढी विद्यार्थी ननग्रेड, १७ हजारभन्दा बढीले ल्याए ३.६१ माथिको जीपीए

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गरेको छ । सार्वजनिक नतिजाअनुसार परीक्षामा सहभागी भएका कुल ३ लाख ३२ हजार २४१ नियमित परीक्षार्थीमध्ये २ लाख ३१ हजार ७७० जना ग्रेडेड भएका छन् भने १ लाख ४ सय ७१ जना ननग्रेड भएका छन् । यससँगै कुल उत्तीर्ण दर करिब ६९.७५ प्रतिशत पुगेको बोर्डले जनाएको छ ।

नतिजाअनुसार उच्च जीपीए प्राप्त गर्ने विद्यार्थीहरूको संख्या उल्लेख्य देखिएको छ । ३.६१ देखि ४.०० जीपीएसम्म प्राप्त गर्ने विद्यार्थीको संख्या १७ हजार ७८६ रहेको छ । त्यस्तै ३.२१ देखि ३.६० जीपीए ल्याउने विद्यार्थी ६४ हजार ८२१ जना रहेका छन् । सबैभन्दा धेरै विद्यार्थी २.८१ देखि ३.२० जीपीएको समूहमा परेका छन्। यस समूहमा ९४ हजार २४९ जना विद्यार्थी रहेका छन् ।

त्यसैगरी २.४१ देखि २.८० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ५० हजार ५९७ रहेको छ । २.०१ देखि २.४० जीपीए ल्याउने ४ हजार ३०८ जना रहेका छन् भने १.६१ देखि २.०० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या केवल ९ जना रहेको बोर्डले जनाएको छ ।

यस वर्षको कक्षा १२ को परीक्षामा नियमित र आंशिकतर्फ गरी कुल ४ लाख १८ हजार १७० जना परीक्षार्थी सहभागी भएका थिए। परीक्षामा सहभागीमध्ये नियमिततर्फ ३० जना र आंशिकतर्फ १० जना गरी ४० जनाको परीक्षा रद्द गरिएको छ । परीक्षा आचारसंहिता उल्लंघन गरेको आरोपमा उनीहरूको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ ।

परीक्षा रद्द भएका विद्यार्थीमध्ये दुई जनामाथि थप कडा कारबाही गरिएको छ । उनीहरूलाई राष्ट्रिय परीक्षा बोर्डबाट सञ्चालन हुने कुनै पनि परीक्षामा भविष्यमा सहभागी हुन नपाउने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

यस वर्षको नतिजाले नियमित र आंशिक परीक्षार्थीबीचको उपलब्धिमा उल्लेख्य अन्तर देखाएको छ । नियमिततर्फ सबै विषयमा उत्तीर्ण ग्रेड प्राप्त गर्ने विद्यार्थीको प्रतिशत ६९.७५ रहेको छ भने आंशिकतर्फ यो दर केवल ४२.३८ प्रतिशत रहेको छ ।

आंशिकतर्फ ८५ हजार ९२९ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । तीमध्ये सबै विषयमा उत्तीर्ण ग्रेड प्राप्त गर्ने विद्यार्थीको संख्या ३६ हजार ४२० मात्र रहेको बोर्डले जनाएको छ । यसले आंशिक परीक्षार्थीका लागि शैक्षिक उपलब्धि हासिल गर्न अझ चुनौतीपूर्ण रहेको संकेत गरेको छ ।

बोर्डले यस वर्षको नतिजा परीक्षा सम्पन्न भएको ३९ दिनमै सार्वजनिक गर्न सफल भएको जनाएको छ । कक्षा १२ को परीक्षा गत वैशाख १४ गतेदेखि २७ गतेसम्म देशभर सञ्चालन गरिएको थियो । विगतका वर्षहरूको तुलनामा अपेक्षाकृत छिटो नतिजा प्रकाशन गरिएको भन्दै बोर्डले प्राविधिक तथा प्रशासनिक व्यवस्थापनलाई यसको मुख्य कारण बताएको छ ।

बोर्डका अनुसार प्रत्येक विषयको सैद्धान्तिक परीक्षामा कम्तीमा ‘डी’ ग्रेड तथा प्रयोगात्मक परीक्षामा कम्तीमा ‘सी’ ग्रेड प्राप्त गरेका विद्यार्थीले नतिजा प्रकाशन भएको मितिबाट १५ दिनपछि ट्रान्सक्रिप्ट, माइग्रेसन तथा प्रोभिजनल प्रमाणपत्रका लागि आवश्यक प्रक्रिया अघि बढाउन सक्नेछन् ।

यस वर्षको नतिजाले एकातर्फ उच्च जीपीए प्राप्त गर्ने विद्यार्थीहरूको संख्या उत्साहजनक देखाएको छ भने अर्कोतर्फ एक लाखभन्दा बढी विद्यार्थी ननग्रेड हुनु शिक्षण–सिकाइ प्रणाली, विद्यार्थीको तयारी र मूल्यांकन प्रक्रियामाथि थप बहसको विषय बनेको छ । शिक्षा क्षेत्रका सरोकारवालाहरूले ननग्रेड हुने विद्यार्थीहरूको संख्या घटाउन विद्यालयस्तरदेखि नै प्रभावकारी शैक्षिक सुधार र सहयोगात्मक कार्यक्रम आवश्यक रहेको बताएका छन् ।













0 प्रतिकृया