राष्ट्रपतिद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण (फाेटाे फिचर)
एक्सन खबर
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीजयन्तीको अवसरमा मंगलबार पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी छन् ।
पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा मंगलबार उनले सिंहदरबारको पश्चिम गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी हुन् । विभिन्न राजनीतिक दलका नेता तथा मन्त्रीसहित सरकार कर्मचारी पनि माल्यार्पण कार्यक्रममा सहभागी भएका छन् ।
पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्रले समेत सिंहदरबार परिसर गएर माल्यार्पण गर्ने कार्यक्रम रहेकाे छ । भने, नेपाल एकीकरणको श्रीगणेश गरेका पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी जन्मजयन्ती मनाइँदै छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानको आयोजनामा कमलादीबाट सांस्कृतिक झाँकी एवं बाजागाजासहित सिंहदरबार पश्चिम मूलढोकास्थित पृथ्वीनारायण शाहको सालिकमा जम्मा भई माल्यार्पण गर्ने कार्यक्रम छ ।
यसैगरी दिउँसो साढे दुई बजे जमलस्थित राष्ट्रिय नाचघरमा नेपालका विभिन्न सांस्कृतिक झलकको प्रस्तुति गरिने भएको छ । अन्य संघसंस्थाले पनि विभिन्न कार्यक्रम आयोजना गरी देशभर पृथ्वीजयन्ती मनाउँदै छन् ।
विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो ।
0 प्रतिकृया