सबै मेडिकल कलेजहरुमा ताला लगाएर सरकारलाई चाबी बुझाउने चेतावनी
एक्सन खबर
काठमाडौं । डा. सुनिल शर्मामाथि सिंहदरबार भित्रै सुनियोजित आक्रमणको प्रयास भएको प्रति एशोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेण्डल कलेज अफ नेपालले गम्भिर ध्यानाकर्षण भएको भन्दै आपत्ति प्रकट गरेको छ । आज विज्ञप्ति जारी गर्दै एशोसिएसनले निजी क्षेत्रबाट सञ्चालित मेडिकल कलेजलाई कोल्याप्स गर्ने नियतले डा. शर्मामाथि सुनियोजित प्रहार गर्न खोजिएको बताएको हो ।
साथै एशोसिएसनले विगत एक दशकयता नेपालको मेडिकल शिक्षालाई धरासायी बनाउन निजी मेडिकल कलेज र त्यहाँका सञ्चालकहरुमाथि विभिन्न तवरबाट आक्रमण भइरहेकोमा राज्यले कुनै सुरक्षा दिन नसकेको बताउँदै अब निजी मेडिकल कलेजहरुमा तालावन्दी गरेर सरकारलाई चाबी बझाउनु पर्ने परिस्थिति उत्पन्न भएको समेत बताएको छ । जारी विज्ञप्तिमा भनिएको छ–‘निजी क्षेत्रबाट सञ्चालित मेडिकल व्यवसायीसँग धैर्यताको बाँध फुटिसकेको अवस्थामा अब हाम्रा सबै मेडिकल कलेजहरुमा ताला लगाउनुको विकल्प देखिएन ।’
कोभिड–१९ को महामारी पुनः आइरहेको बेला निजी मेडिकल कलेज सञ्चालकहरुले अस्पताल मेडिकल कलेजहरु बन्द गर्नुपर्ने परिस्थिति उत्पन्न भए त्यसको जिम्मेवार राज्य हुनुपर्ने बताइएको छ । ‘कोरोना भाइरसको तेश्रो चरणको महामारी सन्निकट रहेको समयमा हामीले हाम्रा स्वास्थ्य संस्थाहरुमा ताला लगाएर चाबी सरकारलाई बुझाउने परिस्थिती सृजना नहोस् ।’
एशोसिएसनका अध्यक्ष अन्सारीले निजी क्षेत्रबाट सञ्चालित मेडिकल कलेजहरुले मुलुकको स्वास्थ्य सेवा र शिक्षामा महत्वपूर्ण भूमिका निर्वाह गरेपनि राज्यले नदेखेको समेत बताएका छन् । ‘कुनैपनि समस्या समाधान वार्ता र छलफलबाट हुनुपर्दछ भन्ने आदर्शलाई आत्मसाथ गर्दै पछिल्लो समय मेडिकल शिक्षामा विद्यार्थी र अभिभावकविच देखिएको विवादलाई समाधान गर्ने हेतूले राज्यको नियामक निकायलाई ध्यानाकर्षण गराउँदै समूचित निकास खोज्ने क्रममा विद्यार्थी संगठनको हवाला दिँदै राज्यद्वारा नै परिचालित समुहले डा. शर्मामाथि सुनियोजित प्रहार गरेको हाम्रो ठहर छ ।’ उनले भनेका छन् ।
मेडिकल क्षेत्रबाट मुलुककै सबैभन्दा बढी राजस्व तिरेर सम्मानीत भएको, हज्जारौं विद्यार्थीलाई गुणस्तरीय मेडिकल शिक्षा प्रदान गर्दै आइरहेको सम्मानीत व्यक्तिलाई मुलुकको मुख्य प्रशासकीय क्षेत्र सिंहदरबारभित्रै आक्रमणको घटनाले बर्तमान सरकार जनता र व्यवसायीको सुरक्षाप्रति कत्तिपनि चिन्तित र संवेदनशील रहेनछ भन्ने पुष्टि समेत भएको एशोसिएसनको भनाई छ ।
जनतालाई सर्वसुलभ स्वास्थ्य सेवा दिनुकासाथै हज्जारौं दक्ष जनशक्ति उत्पादन गर्दै आइरहेकोमा राज्यले सधैं अपहेलनाको दृष्टिकोणले व्यवहार गरिरहेको भन्दै एशोसिएसनले पछिल्लो समय मेडिकल व्यवसायीमाथि राज्यकै विभिन्न निकाय र त्यहाँ पदासिन व्यक्तिहरु तथा विभिन्न राजनीतिक शक्ति केन्द्रहरुको संरक्षणबाट परिचालितहरुबाट आरोप लगाउने, धम्क्याउने, तर्साउने, मेडिकल कलेजहरु तोडफोड गरी निजी क्षेत्रको सम्पत्तिमाथि समेत क्षती पुर्याउने कार्य भइरहेको पनि बताएको छ ।
राज्य निजी क्षेत्र मैत्री नभएको कुरा मेडिकल कलेज सञ्चालकहरुमाथि गरेको व्यवहारबाट प्रष्ट भइसकेको भन्दै निजी क्षेत्रबाट सञ्चालित मेडिकल कलेजहरुलाई धरासायी बनाएर वर्षेनी हज्जारौं नेपाली विद्यार्थीहरुलाई अरबौं रुपैया बोकेर विदेशीभूमीमा पठाउन राज्य संयन्त्र नै सक्रिय रहेको समेत आरोप लगाइएको छ । ‘पर्दा पछाडी रहेर अमुक विदेशी शक्ति र तिनका एजेण्टहरुको इशारामा नेपालको मेडिकल शिक्षा र स्वास्थ्य सेवालाई तहसनहस बनाउने सड्यन्त्र स्वयं राज्यका नियामक निकाय तथा मेडिकल शिक्षा सुधारको नाममा अमूक विदेशी एजेण्टको भरिया बनेर कुर्लनेहरुले गरेका छन् ।’ विज्ञप्तिमा उल्लेख छ ।
राज्य नै एजेण्टहरुको संरक्षक बन्छ भने त्यहाँ कुनैपनि व्यक्ति, व्यवसायी सुरक्षित रहन नसक्ने भन्दै एशोसिएसनले विश्वका ठूल्ठूला देशहरु विकसित राष्ट्र बन्नुमा निजी क्षेत्रको लगानी र तिनले तिर्ने करबाट संभव भएको पनि जिकीर गर्दै भनिएको छ ‘तर, यहाँ त सरकारी संस्थाहरुलाई त कोल्याप्स पारिएको छ नै निजी क्षेत्रबाट अरबौं ऋण लिएर सञ्चालित संस्थाहरुलाई समेत सिध्याउने कार्य भइरहेको छ ।’ एशोसिएसनले महासचिव डा. शर्मामाथि दिनदहाडै सिंहदरबारको शिक्षा मन्त्रालयको प्राङ्गणमा भएको घटनाको घोर भत्सर्ना गर्दै उक्त घटनामा संलग्नलाई कडा कारवाहीको माग पनि गरेको छ ।
0 प्रतिकृया