फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगवती चौधरी
एक्सन खबर
सुनसरी
। महिला आर्थिक शशक्तिकरणकी अभियान्ता भगवती चौधरी फरवार्ड
माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा पुनः चयन भएकी छन् ।
फरवार्डका पुष ३० गते सम्पन्न ९ औं वार्षिक साधारण सभापछि बसेको सञ्चालक
समितिको बैठकले चौधरीलाई सर्वसम्मत रुपमा पुनः अध्यक्षमा चयन गरेको हो ।
वार्षिक
साधारण सभाबाट संस्थापक शेयरधनीहरुको प्रतिनिधित्व गर्दै नयाँ सञ्चालकमा
चौधरीसहित ग्रामिण महिला उत्सुकता विकास मञ्चकी राजकुमारी तब्दार, एभरेष्ट
बैंकका आशुतोष शर्मा र केशवराज पौडेल चयन भएका थिए भने, सर्वसाधारण शेयरधनी
तर्फबाट प्रतिनिधित्व गर्ने बलराम चौधरी र जगतजंग जि.सी. चयन भएका थिए ।
कम्पनीले
आर्थिक वर्ष २०७८।०७९ को लागि लेखापरीक्षकमा किन्जल एण्ड एशोसियट्सलाई
नियुक्त गरेको छ । वार्षिक साधारण सभाले शेयरधनीहरुलाई ३५ प्रतिशत बोनस
शेयर तथा ५ प्रतिशत नगद लाभांश दिने घोषणा समेत गरेको छ ।
ग्रामिण
महिला उत्सुकता विकास मञ्च (फरवार्ड नेपाल) मार्फत सामाजिक, आर्थिक सचेतना
फैलाउँदै महिलाहरुलाई उद्यमशील र स्वरोजगार बन्न प्रेरित गर्दै आइरहेकी
नेतृ चौधरीकै पहलमा फरवार्ड माइक्रोफाइनान्सको स्थापना भएको थियो ।
२०६९
सालमा नेपाल राष्ट्र बैंकले फरवार्ड नेपाललाई वित्तीय मध्यस्तकर्ताको
अनुमति दिएसँगै फरवार्ड माइक्रोफाइनान्सको स्थापना गरिएको थियो ।
पूर्वराज्यमन्त्री समेत रहेकी नेतृ चौधरीकै अगुवाईमा फरवार्ड
माइक्रोफाइनान्सले देशका ४० जिल्लामा १५९ शाखा कार्यालय मार्फत लघुवित्त
कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । संस्थासँग हाल २ लाख ८१ हजार बढी
ग्राहक सदस्यहरु रहेका छन् ।
महिलालाई आर्थिक क्षेत्रमा सक्रिय
बनाए सामाजिक, सांस्कृतिक र आर्थिक असमानताहरु घटेर जाने, महिला हिंसा र
विभेद न्यूनिकरण हुने नेतृ चौधरीको भनाई छ । सोहि अनुसार फरवार्ड
माइक्रोफाइनान्सले गाउँगाउँमा लघुवित्त कार्यक्रम सञ्चालन गर्दा महिलालाई
सिपमुलक, रोजगारमुलक तथा सचेतना मुलुक तालिमहरु समेत दिएर कर्जा प्रवाह
गर्ने गरेको छ ।
0 प्रतिकृया