खेसारीलाल नआएको निहुँमा बर्जु महोत्सवमा तोडफोड र आगजनीमा ४ वटा स्करपीयो जले
एक्सन खबर
दुहवी । सुनसरीको बर्जु गाउँपालिकामा आयोजित महोत्सवमा भोजपुरी कलाकार खेसारीलाल नआएपछि दर्शकले आगजनी र तोडफोड गरेका छन् । बर्जु–६ बर्जु खेल मैदानमा जारी महोत्सवको अन्तिम दिन भोजपुरी कलाकार खेसरीलाल यादव आउने प्रचारप्रसार गरिएपनि उनी नआएपछि आक्रोशित दर्शक तथा स्थानीयले महोत्सवमा तोडफोड तथा आगजनी गरेका हुन् ।
कलाकार खेसारीलालाई हेर्न भनेरै दुई सयदेखि पाँच सय रुपैंयाको टिकट काटेर विहानै देखि दर्शकहरु महोत्सवमा ओइरिएका थिए । महोत्सवको अन्तिम दिन भएकाले पनि स्थानीय दर्शकको बाक्लो उपस्थिति रहेको थियो । तर, कलाकार खेसारीलाल नआउने सूचना पाएपछि आक्रोशित भिडले महोत्सवमा आगजनी गर्दै तोडफोड समेत गरेको हो ।
सोक्रममा भिडले महोत्सव स्थलमा रहेको ४ वटा भारतीय नम्बर प्लेटको स्करपीयो, एउटा सिटी सफारी र एउटा मोटरसाइकलमा आजगनी गरेका छन् । साथै, महोत्सव स्थलको स्टेज र सयौं कुर्सीहरु समेत तोडफोड गरेका छन् । आगजनी र तोडफोडबाट के कति क्षती भएको छ अहिलेसम्म यकिन भएको छैन ।
महोत्सव स्थलमा आगजनी र तोडफोड हुन थालेपछि स्थानीय प्रहरीले १५ सेल अश्रु ग्यास प्रहार गरेको थियो । आक्रोसित भिडले स्थानीय प्रहरीको गाडीमा समेत प्रकार गरेका थिए । सोक्रममा प्रहरीको भ्यानको सिसा समेत फुटेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख सञ्जयसिंह थापाले बताए ।
गत पुष २४ गतेदेखि जारी बर्जु महोत्सवलाई कोरोना संक्रमण बढेसँगै स्थानीय प्रशासनले रोक लगाएपनि आयोजकले अटेरी गरेका थिए ।
0 प्रतिकृया