Follow us:


Follow us

२२ असार २०८३, सोमवार
२२ असार २०८३, सोमवार


‘सिके राउतलाई मार्ने धम्की दिएको छैन’ मन्त्री रेणु यादव

एक्सन खबर
१० माघ २०७८


‘सिके राउतलाई मार्ने धम्की दिएको छैन’  मन्त्री रेणु यादव

काठमाडौं । जनता समाजवादीकी नेतृ तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले आफ्नो अभिव्यक्तिलाई पूर्वाग्रहपूर्ण ढंगले आ–आफ्नो तरिकाले अपव्याख्या गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताएकी छन् ।

रौतहटको गौरमा यही ५ माघमा ’बलिदानी दिवस’को अवसरमा आयोजित कार्यक्रममा उनले गौर काण्ड दोहोर्‍याएर जनमत पार्टीका संयोजक सिके राउतको हत्या गर्ने अभिव्यक्ति दिएको भन्दै चौतर्फीं विरोध भइरहेको छ । उनलाई मन्त्रीबाट बर्खास्त गर्नुपर्ने माग उठिरहेका बेला सोमबार विज्ञप्ति जारी गरेर मन्त्री यादवले आफ्नो अभिव्यक्तिलाई अपव्याख्या गरेर बुझिएको बताएकी छन् ।

‘हाम्रो पार्टीको भातृ संगठन ‘समाजवादी युवा संघ’ले रौतहटस्थित गौरमा श्रद्धाञ्जली सभाको आयोजना गरेको थियो । त्यस सभामा मैले दिएको अभिव्यक्ति कसैप्रति लक्षित, कुनै पूर्वाग्रह वा दूरासयपूर्ण मानसिकताबाट नभई आपसी मुठभेड नगर्न वा हुन नदिन, कुनै हिंसात्मक गतिविधि हुनबाट जोगाउन र शान्तिपूर्ण विधि र प्रक्रियाबाटै राजनीतिक गतिविधि गर्ने अभिव्यक्तिलाई पछिल्लो समय विभिन्न माध्यमहरुद्वारा कसैकसैले पूर्वाग्रहपूर्ण ढंगले आ–आफ्नो तारिकाले अपव्याख्या गरेकोप्रति मेरो गम्भिर ध्यानाकर्षण भएको छ,’ मन्त्री यादवले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आफ्नो अभिव्यक्ति कसैप्रति हिंसाको प्रयोग नगर्ने र कसैलाई उत्तेजित पार्न नभएको भन्दै उनले सिके राउतलाई मार्ने धम्की नदिएको नाम उल्लेख नगरी बताएकी छन् । ७ चैत २०६३ मा तत्कालीन नेकपा माओवादी र  मधेशी जनअधिकार फोरमले गौरको राइसमिलमा कार्यक्रम आयोजना गर्दा भएको झडपमा २८ जना मारिएका थिए । सिके राउत नसच्चिए सोही घटना दोहोर्याउने अभिव्यक्ति दिएको भन्दै मन्त्री यादवको चौतर्फी विरोध भइरहेको छ ।

तर, सोमबार उनले विज्ञप्ति जारी गरेर भनेकी छन्, ‘मेरो मन्तव्यलाई लिएर केही भ्रम फैलिएको बुझिन आएकोले सो प्रति गहिरो दुख व्यक्त गर्दै आफ्नो भनाई कसैप्रति हिंसाको प्रयोग नगर्ने र कसैलाई उत्तेजित पार्न नभएको व्यहोरा समेत जानकारीका लागि अनुरोध गर्दछु । साथै, उक्त वक्तव्यलाई अतिरञ्चित नगरिदिन हुन् विनम्र आग्रह पनि गर्दछु । मेरो वक्तव्य व्यक्तिगत रुपमा कसैप्रति लक्षित नभए पनि त्यस्तो भ्रम पर्न गएकोमा सो प्रति दुःख व्यक्त गर्दछु । साथै यसलाई सामान्य रुपमा लिन हार्दिक अनुरोध पनि गर्दछु ।’

विज्ञप्तिको पूर्णपाठ

नेपालमा संघीयता, लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, नागरिक स्वतन्त्रता प्राप्तिका लागि मधेसी, आदिवासी–जनजाती, दलित, महिला, थारु, मुस्लिम, उत्पीडित जातजाति र अल्पसंख्यक समुदायहरुमाथि वषौदेखि कायम रहेको थिचोमिचो, शोषण, दमन, उत्पीडन, विभेद र असमानता अन्त्य गरी पहिचानसहितको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न भएको ऐतिहासिक मधेस जनविद्रोह, माओवादी जनयुद्ध र जनआन्दोलनको सिलसिलामा आफ्नो ज्यानको आहुति दिने महान वीर सहिदहरुको सम्झनामा उहाँहरु प्रति हार्दिक श्रद्धाञ्जली अपण गर्न प्रत्येक वर्ष माघ ५ गतेलाई ’बलिदानी दिवस’ को रुपमा मनाउँदै आएको सबैलाई सर्वविदितै छ ।

त्यसै क्रममा हाम्रो पार्टीको भातृसंगठन ‘समाजवादी यूवा संघ’ले रौतहटस्थित गौरमा श्रद्धाञ्जली सभाको आयोजना गरेको थियो । त्यस सभामा मैले दिएको अभिव्यक्ति कसैप्रति लक्षित, कुनै पूर्वाग्रह वा दूरासयपूर्ण मानसिकताबाट नभई आपसी मुठभेड नगर्न वा हुन नदिन, कुनै हिंसात्मक गतिविधि हुनबाट जोगाउन र शान्तिपूर्ण विधि र प्रक्रियाबाटै राजनीतिक गतिविधि गर्ने अभिव्यक्तिलाई पछिल्लो समय विभिन्न माध्यमहरुद्वारा कसैकसैले पूर्वाग्रहपूर्ण ढंगले आ–आफ्नो तारिकाले अपव्याख्या गरेकोप्रति मेरो गम्भिर ध्यानाकर्षण भएको छ ।

मेरो मन्तव्यलाई लिएर केही भ्रम फैलिएको बुझिन आएकोले सो प्रति गहिरो दुःख व्यक्त गर्दै आफ्नो भनाई कसैप्रति हिंसाको प्रयोग नगर्ने र कसैलाई उत्तेजित पार्न नभएको व्यहोरा समेत जानकारीका लागि अनुरोध गर्दछु । साथै, उक्त वक्तव्यलाई अत्तिरञ्चित नगरिदिन हुन विनम्र आग्रह पनि गर्दछु ।

मेरो वक्तव्य व्यक्तिगत रुपमा कसैप्रति लक्षित नभएपनि त्यस्तो भ्रम पर्न गएकोमा सो प्रति दुःख व्यक्त गर्दछु । साथै यसलाई सामान्य रुपमा लिन हार्दिक अनुरोध पनि गर्दछु । अगामी दिनमा यसप्रति सचेत रहनेछु ।













0 प्रतिकृया