Follow us:


Follow us

२२ असार २०८३, सोमवार
२२ असार २०८३, सोमवार


धनगढी र कर्णालीमा राष्ट्रिय सभाको मतदान सुरु (तस्बिरसहित)

एक्सन खबर
१२ माघ २०७८


धनगढी र कर्णालीमा राष्ट्रिय सभाको मतदान सुरु (तस्बिरसहित)

यस्तो छ कर्णालीकाे मतभार

काठमाडाैं । कर्णाली र सुदूरपश्चिममा राष्ट्रिय सभाको निर्वाचन सुरु भएको छ । आज बिहान ९ बजेबाट सुरु भएको मतदान दिउँसो ३ बजे सम्म सञ्चालन हुने छ । धनगढी निर्वाचन कार्यालयका प्रमुख प्रेमदत्त भट्टका अनुसार सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभाका लागि तीन जना चयन हुनेछन् ।

तीन सिटका लागि ६ जनाले उम्मेदवारी दिएका छन् । नेकपा एमाले एक्लै र अन्य तीन दल गठबन्धन बनाएर निर्वाचनमा होमिएका छन् । एमालेबाट महिलातर्फ कैलालीकी सन्तोषकुमारी शर्मा थापा, दलिततर्फ बैतडीका नरेश विक र खुलातर्फ डोटीका डिल्लीराज भट्टले मनोनयन दर्ता गराइसकेका छन् ।

गठबन्धनबाट नेपाली कांग्रेसको तर्फबाट नारायणदत्त मिश्र, दलितमा माओवादी केन्द्रका जगत पार्की र महिलामा एकीकृत समाजवादीका तर्फबाट गरिमा शाह चुनावी प्रतिस्पर्धामा छन् । सुदूरपश्चिम प्रदेशमा ५२ जना प्रदेशसभा सदस्य र १ सय ७५ जना स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् ।

यता कर्णाली प्रदेशमा पनि विहानबाटै राष्ट्रियसभा निर्वाचनको मतदान सुरु भएको छ । दुईवटा मतदान केन्द्रमा मतदान सुरु भएको हो । बिहान ९ बजेदेखि शुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्ने निर्वाचन कार्यालयका नायब सुब्बा हिरानन्द पोख्रेलले बताए । ‘दुईवटा मतदान केन्द्रमा मतदान भइरहेको छ,’ उनले भने, ‘निर्वाचन अधिकृतसहित १८ जना कर्मचारीले निर्वाचनको काम गरिरहेका छन् ।’

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही लगायतले मतदान गरिसकेका छन् । तीन सिटका नेकपा एमालेबाट तीन जना र गठबन्धनबाट तीनजना गरि ६ जनाको उम्मेदवारी परेको छ ।

गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नरबहादुर विष्ट (सुर्खेत) अपाङ्ग, नेपाली कांग्रेसका दुर्गाकुमारी गुरुङ (सुर्खेत) महिला, नेकपा एकीकृत समाजवादीका उदयबहादुर बोहोरा (सल्यान) अन्यबाट उम्मेदवार रहेका छन् भने, नेकपा एमालेबाट चुडामणी शर्मा (सुर्खेत) अपाङ्ग, पदबहादुर माझी (दैलेख) अन्य र गंगा थापा महत (जुम्ला) महिलाबाट राष्ट्रियसभा पदका लागि उम्मेदवार रहेका छन् ।

मतदान सकिने विक्तिकै मतगणना जारी हुने र आजै नतिजा प्रकाशन गर्ने तयारी रहेको छ ।
 
यस्तो छ कर्णालीकाे मतभार
कर्णालीमा प्रदेशसभाका ३५ सांसद र ७९ पालिकाका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष १५६ गरी १९१ जनाले मतदान गर्ने छन् । राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान गर्ने अधिकार स्थानीय तहका प्रमुख/उपप्रमुख र प्रदेशसभाका सदस्यलाई मात्र छ ।

स्थानीय तहका प्रमुख-उपप्रमुखको मतभार १८ तथा प्रदेशसभा सदस्यको मतभार ४८ हुने कानुनी व्यवस्था छ । राष्ट्रियसभा निर्वाचनमा कर्णालीमा सबैभन्दा बढी मत नेकपा (माओवादी केन्द्र) सँग छ । माओवादी केन्द्रका स्थानीय तहमा प्रमुख-उपप्रमुख गरी ५२ र प्रदेशसभामा १२ सदस्य छन् ।

माओवादी केन्द्रमा स्थानीय तहबाट ९३६ र प्रदेशसभाबाट ५७६ मत गरी एक हजार ५१२ मत छ । नेकपा(एमाले) का स्थानीय तहका प्रमुख-उपप्रमुख गरी ४५ र प्रदेशसभा सदस्य १३ जना छन् । स्थानीय तहबाट ८१० र प्रदेशसभाबाट ६२४ मत हुन आउँछ । यो भनेको एमालेको कूल एक हजार ४३४ मत हो ।     

नेपाली कांग्रेससँग स्थानीय तहका प्रमुख-उपप्रमुखको ७२० तथा प्रदेशसभा सदस्यको २८८ गरी कूल एक हजार आठ मत छ । एमाले विभाजनपछि बनेको नेकपा (एकीकृत समाजवादी) मा स्थानीय तहका प्रमुख/उपप्रमुख गरी १३ र प्रदेशसभाका ३ जना मतदाता छन् ।

स्थानीय तहको मतभार २३४ र प्रदेशसभा सदस्यको मतभार १४४ गरी एकीकृत समाजवादीको कूल मत ३७८ रहेको छ । राप्रपाको एक जना प्रदेशसभा सदस्य भएकाले उसको मतभार ४८ मात्र छ ।

















0 प्रतिकृया