एपीएफलाई पहिलाे पटक आहाराराको उपाधि
एक्सन खबर
काठमाडौँ । ६ पटकको च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबलाई पेनाल्टी सुट आउटमा ५–४ ले हराउँदै सशस्त्र प्रहरी बलको एपीएफले पहिलो पटक आहा रारा गोल्डकपको उपाधि जितेको हो । शनिबार पोखरा रंगशालामा सम्पन्न खेलको निर्धारित र अतिरिक्त ३० मिनेट २–२ को बराबरीमा सकिएपछि पेनाल्टी सुट आउटबाट विजेताको टुङ्गो लागेको हो ।
मनाङका फ्रयांङक्लिन टेला, दयानन्द सिंह, शिव गुरुङ, रुपेश केसीले गोल गर्दा पाँचौ नम्बरमा प्रहारका लागि आएका अफिज ओलावालेले बललाई जाली चुमाउन सकेनन् ।
एपीएफका नवीन लामा, सनिश श्रेष्ठ, रवि थिङ्ग, मणि लामा, आरमन्ड विडङले पेनाल्टीमा कुनै गल्ती गरेनन् । यसअघि युवराज खड्काले २०औँ मिनेटमा गरेको गोलबाट एपीएफले अग्रता बनाएको थियो । तर, ६७औँ मिनेटमा दयानन्द सिंहले गरेको गोलबाट मनाङ खेलमा फर्किएको थियो ।
८३औँ मिनेटमा फ्रयांक्लिन टेलाले गोल गरेपछि मनाङले २-१ को अग्रता बनाएको थियो । यद्यपि, इन्जुरी समयमा रवि थिङ्गले गोल गर्दै एपीएफलाई बराबरीमा फर्काएका थिए । एपीएफ यसअघि २०६४ सालमा प्रतियोगिताको फाइनलमा पुगेको थियो ।
एपिएफका डिफेन्डर राजन गुरुङ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । एपिएफलाई पहिलोपटक आहा राराको च्याम्पियन बनाउन उनले सबै चार खेल खेल्दै उत्कृष्ट प्रदर्शन गरेका थिए । सर्वाेत्कृष्ट खेलाडी बनेसँगै राजनले अप्रिला स्कुटर प्राप्त गरे । यस्तै उनी नै आहा राराको उत्कृष्ट डिफेन्डर समेत चुनिए । उनले २५ हजार रुपैँया हात पारे ।
मनाङका आफिज ओलावाले उत्कृष्ट फरवार्ड घोषित भए । एपिएफका रवि थिङ उत्कृष्ट मिडफिल्डर र उच्च गोलकर्ता, उत्कृष्ट गोलरक्षक एपिएफकै युया कुरियामा र उत्कृष्ट प्रशिक्षक कुमार थापा घोषित भए । उनीहरुले समान २५–२५ हजार रुपैँयाको साथमा ट्रफि हात पारे ।
0 प्रतिकृया