सञ्चालनमा आयो सेन्ट्रल अस्पताल
एक्सन खबर
जनकपुरधाम । जनकपुरमा नयाँ अस्पताल सञ्चालनमा आएको छ । जनकपुरको लक्ष्मीनियाँमा सेन्ट्रल अस्पताल सञ्चालनमा आएको हो । सेन्ट्रल इन्जिनियरिङ कलेजका सञ्चालक विजय झाको नेतृत्वमा मधेश प्रदेशका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्यले सेन्ट्रल अस्पताल स्थापना भएको हो ।
बिहीबार उक्त अस्पतालको विधिवत शुरुवात गर्दै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेशको अधिकार प्राप्तिको लडाईं अझै रहेको बताउँदै संघीयतालाई संस्थागत गर्दै विभिन्न आन्दोलन र संघर्षहरुबाट प्राप्त उपलब्धीहरु रक्षा गर्नुपर्ने बताए ।
पूर्वउपप्रधानमन्त्री समेत रहेका यादवले नेपालमा जाति, भाषा, समुदाय, संस्ककार र संस्कृति तथा अनुहारका आधारमा हुने विभेद अझै विद्यमान रहेको बताउँदै ती विभेदहरुलाई चिर्दै जानुपर्ने पनि बताइन् ।
आर्थिक उपलब्धी विना समृद्धि प्राप्त हुन नसक्ने भन्दै अध्यक्ष यादवले समृद्धिसँगै गरिबी, असमानताहरु हटेर जाने पनि बताए । उनले मुलुकको विकासमा निजी क्षेत्रसँग राज्यले सहकार्य गरेर जानुपर्ने पनि औल्याए । समाज परिवर्तनको लागि शिक्षा र स्वास्थ्य क्षेत्रको महत्वपूर्ण योगदान रहेको चर्चा गर्दै यादवले सेन्ट्रल अस्पतालले मधेशका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा दिनेमा आफु विस्वस्त रहेको पनि बताए ।
कार्यक्रममा बोल्दै अस्पतालका अध्यक्ष झाले सेन्ट्रल अस्पतालले जनकपुरसँगै मधेश प्रदेशका जनतालाई सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्ने बताए । ‘सेवा नै धर्म हो’ भन्ने नाराका साथ सञ्चालनमा आएको अस्पतालमा एनआइसियू, आइसियू, ओपिडी, ल्यापोस्क्रोपी, लगायत क्यान्सर सम्बन्धी उपचार सेवाहरु समेत रहेको जानकारी गराए । सेन्ट्रल अस्पताल जनकपुरको जानकी मेडिकल कलेजपछिको सुविधासम्पन्न एक सय शैयाको अस्पताल हो ।
कार्यक्रममा सेन्ट्रल अस्पतालका अध्यक्ष विजय झासमेत जसपामा प्रवेश गरेका थिए ।
0 प्रतिकृया