सुनसरी १ मा नेकपा एमालेकाे प्रभाव बन्दै, कांग्रेस, माओवादी त्याग्दै एकै दिन सयाैं प्रवेश
एक्सन खबर
धरान । सुनसरी क्षेत्र नं. १ मा नेकपा एमालेले आफ्नाे प्रभाव बढाउँदै लगेकाे छ । पार्टी विभाजनमा कमजाेर देखिएकाे सुनसरी क्षेत्र नं. १ पुनः बलियाे हुँदै गएकाे हाे । शनिबार नेकपा एमालेले याेजना गरेकाे अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा नेकपा माओवादी केन्द्र धरानको २ वटा वडा कमिटीका अध्यक्ष र पदाधिकारीहरु समेत एमालेमा प्रवेश गरेका छन् ।
धरानमा आयोजित अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रको धरान वडा नं १२ र वडा नं १६ का अध्यक्षसहित पदाधिकारीहरु एमालेमा प्रवेश गरेकाे नेकपा एमाले धरानले जनाएकाे छ । कार्यक्रममा वडा नं १६ का अध्यक्ष हिमाल कार्की, सचिव कैलाश लिम्बुसहित १ सय जना माओवादी केन्द्र परित्याग गरेर एमाले प्रवेश गरेका छन् ।
वडा नं १२ का अध्यक्ष खगेन्द्र लिम्बुको नेतृत्वमा पनि माओवादी केन्द्र परित्याग गरेर एमालेमा प्रवेश गर्दा माओवादी पुर्व बिग्रेड कमाण्डर सुर्य खड्का, माओवादी केन्द्रका नगर सदस्य राम राई पनि एमाले प्रवेश गरेका छन् । शनिबार माओवादी केन्द्रबाट मात्र ४६७ जना प्रवेश गरेको एमालेको भनाइ छ।
कार्यक्रममा नेकपा एमाले महासचिब शंकर पाेखरेल, केन्द्रीय सदस्य भगवती चाैधरी लगायत जिल्ला नेताहरूले पार्टी प्रवेश गराएका थिए ।
कार्यक्रममा बाेल्दै माओवादी केन्द्र परित्याग गरि एमाले प्रवेश गरेका हिमाल कार्कीले आफुहरु मुलबाटोमा फर्किएको बताए । ‘आज हामी देशको ठुलो पार्टी एमालेमा, मुलबाटोमा फर्केका छौं, भोली वडा र नगर कमिटीबाट आउने क्रम जारी छ ।’ कार्कीले झिना मसिना पार्टीका देशभक्त कार्यकर्तालाई गोलवद्ध गर्दै विश्व कम्युनिष्ट केन्द्रकोरुपमा विकसित गर्ने उद्देश्यले नेकपा एमालेमा सबै गोलबद्ध हुनुपर्ने बताए ।
0 प्रतिकृया