सामाजिक सञ्जाल व्यवस्थापनका सम्बन्धमा काउन्सिललाई विज्ञको सुझाव
एक्सन खबर
काठमाडाैं । युट्युब, फेसबुकलगायत सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्री र यसको नियमन तथा व्यवस्थापनसम्बन्धी विज्ञसँग भएको छलफलमा राज्यको नियामक निकाय काउन्सिललाई थप सशक्त र सक्रिय बनाउनुपर्ने सहभागीले सुझाव दिएका छन् । प्रेस काउन्सिल नेपालको आयोजनामा आज भएको कार्यक्रममा सम्बद्ध विज्ञ र जानकारहरूले नियमन र निर्देशनसँगै मिडियालाई जिम्मेवार बनाउनुपर्ने बताएका हुन् ।
पत्रकार माधव चौलागाईँले सोसल मिडियालाई जिम्मेवारी बोध गराउनुपर्ने भन्दै काउन्सिलको पहिलो प्राथमिकता यस विषयमा जनचेतना फैलाउनु पर्ने धारणा राखे । विज्ञ उज्ज्वल आचार्यले कसैको घरभित्र पसेर व्यक्तिगत कुरा सार्वजनिक गर्नु पत्रकारिताको नैतिकताभित्र नपर्ने बताउँदै मिडिया र सोसल मिडियाको समस्या फरक भएकाले नियामक निकायहरूबिच सहकार्य हुनु आवश्यक भएको जनाए ।
अधिवक्ता बाबुराम अर्यालले सोसल मिडिया र मिडियामा भिन्नता रहेको भन्दै अनुमतिबेगर खिचिएको भिडियो, यौनजन्य भिडियोलगायतका सामग्री पत्रकारिताको मान्यताभित्र नपर्ने स्पष्ट पारे । काउन्सिलले सैद्धान्तिकरूपमा प्रष्ट भएर आ–आफ्नो कर्तव्य अघि बढाउन उहाँले सुझाव दिए ।
पत्रकार एवं सूचना प्रविधि विज्ञ विनोद भट्टराईले सञ्चारकर्मी र पत्रकार फरक भएको भन्दै काउन्सिलको भूमिकाबारे प्रष्ट हुनुपर्ने बताउँदै पत्रकारिताको न्यूनतम मूल्य–मान्यता कायम राख्नकै लागि भए पनि सामाजिक सञ्जालबाट दिइने सामग्रीको अध्ययन हुनुपर्ने प्रष्ट्याए ।
इञ्जिनियर विरोध रिजालले इन्टरनेटको प्रयोगबाट विभिन्न एप्स र सञ्जालमा आउने अडियो/भिडियो पत्रकारिताभित्र नपर्ने उल्लेख गरे। सामाजिक सञ्जालको आफ्नै मूल्य–मान्यता हुने भएकाले कुन कन्टेनमा रिपोर्टिङ्ग गर्ने भन्ने विषयले अर्थ लाग्ने उनकाे भनाइ छ ।
पत्रकार घनेन्द्र ओझाले कसैको घरभित्र पसेर व्यक्तिगत कुरा सार्वजनिक गर्नु पत्रकारिताको नैतिकताभित्र नपर्ने भन्दै काउन्सिलले सामाजिक सञ्जाललाई हेर्नु नपर्ने भन्दै कसैले सञ्जालबाट गलत गरेमा सोही सञ्जालबाट बहिस्कृत हुने भन्दै काउन्सिलले सञ्चारजगतलाई हेर्नुपर्ने बताए ।
काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले सोसल मिडियाबाट आउने अडियो–भिडियो सामग्रीहरूमा पत्रकारिता भए/नभएकोबारे बुझ्न र काउन्सिललाई सुझाव दिन छलफल राखिएको बताए । इन्टरनेटबाट दिइने सामग्रीलाई कसरी व्यवस्थित गराउने भन्ने सम्बन्धमा काउन्सिल गभ्मीर भएको भन्दै बस्नेतले सल्लाह, सुझावलाई ग्रहण गर्दै राज्यका निकायसँग समन्वय र सहकार्य गरेर अघि बढ्ने बताए ।
बोर्ड सदस्य ठाकुरप्रसाद बेलबासेले पत्रकार र मिडिया के हो भन्ने बुझ्न आवश्यक भएको भन्दै सोसल मिडियाबाट पत्रकारिताको नाममा गरिँदै आएका अभ्यासको समीक्षा गर्ने समय आएको जिकीर गरे । भावनाको व्यापार पत्रकारिताभित्र नपर्ने भन्दै स्वतन्त्रताको उपभोगसँगै कर्तव्य पालना गर्नुपर्नेमा उनकाे जाेड थियो ।
बोर्ड सदस्य शरदप्रसाद अधिकारीले काउन्सिलले आचारसंहिताको परिधिभित्र रहेर स्वस्थ पत्रकारिताको विकासको लागि मिडियालाई नियमन र निर्देशन गर्ने गरेको बताए । भने, मुख्य अधिकृत झबिन्द्र भुसालले प्रविधिको विकाससँगै पत्रकारिताको क्षेत्र पनि फराकिलो बन्दै गएकाले समस्याहरू बढेको बताए । सामाजिक सञ्जाललगायत इन्टरनेटका माध्यमबाट प्रकासन हुने सामग्रीलाई पत्रकारिता भनेर अङ्गिकार गर्ने वा नगर्ने भन्ने विषयमा अन्यौलता रहेको उनकाे बुझाइ छ ।
वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले सहभागीबाट आएका सल्लाह र सुझावबाट युट्युबलगायत सामाजिक सञ्जाल र अनलाइन मिडियालाई व्यवस्थित गर्ने विषयमा गृहकार्य गर्न सहज हुने बताए । उप–प्रशासकीय अधिकृत रामशरण बोहराले सामाजिक सञ्जालका नाममा बढ्दो बेथिति रोक्न काउन्सिलले प्रयास गरिरहेको बताए ।
0 प्रतिकृया