विशाल बस्नेत
महोत्तरी । छेउमा २ कोठे पक्की घर छ । प्रत्येक घरका परिवारका सदस्यहरु घरतर्फ हेर्दै टोलाइरहेका छन् । बालबालिका कोठाभित्र रमाइरहेका छन् । कोही घरको सिगारपटारमा ब्यस्त छन् । अगाडि सम्सी-माइस्थान सडकखण्डमा हुईँकिनेहरु एकनाशले बनेका घरहरुलाई हेरेर मात्र ओहोरदोहोर गर्छन् । सडकको वारीपारी पशु-चौपायाका गोठ जस्तो देखिने केही छाप्राहरु पनि छन् । अनि यही वस्तिको दायाँ भागमा वडा कार्यालय छ । वृद्धहरुको चाउरी परेको अनुहारमा स्पष्ट खुसी देख्न सकिन्छ ।
यो कुनै चलचित्रको दृश्य हैन न त काल्पनिक कथा नै । गौशाला वडा न.२ स्थित मुसहर बस्तिमा पुगेपछी यस्ता दृश्यहरु जोकोहीले नियाल्न पाउँछन् । जनता आवास अन्तर्गत मुसहर बस्तिका मुसहरहरुको जिवनमा नै पहिलो पल्ट आफ्नै घर बनेपछीको खुसीयाली हो यो ।
रामपुकार सादालाई अघिल्लो हिउँद र वर्षा फर्केर सम्झन पनि मन लाग्दैन । हुन त सरकारले आफ्नै २ कोठे भवन बनाइदिने घोषणा गरेपछी पनि रामपुकारले झण्डै ४ बर्ष प्रतिक्षामा नै दिन विताउनु पर्यो । अघिल्लो हिउँद मात्र हैन उनले बितेको ४ बर्ष उस्तै पिडामा बिताए । पक्की घर बन्नुभन्दा पहिला अस्थायी टहरामा बस्दै आएका रामपुकारले हिउद र बर्षायाममा भोगेको दु:ख र पीडा सम्झिनसक्नुको छ ।
‘बर्षायाममा छानो छिचोलेर पानी चुहिनाले बर्षाभरी छोराछी बिरामी भए । वृद्ध आमा बिरामी परिन ।’ उनले भने । बिहान-बेलुका मजदुरी गरेर परिवारको लागी जिविकोपार्जनको माध्यम बनेका रामपुकारले बिरामी भएकै कारण काम गर्न नपाउँदा कयौ रात पानी पिएर सुतेको नमिठो अनुभव छ ।

मानिसलाई नाना, छाना र खाना अत्यावश्यक छ तर गरिबी र मजदुरी गर्ने वातावरण बन्न नसक्दा रामपुकार बितेको ४ बर्षसम्म निक्कै कष्टकरसँग जिविकोपार्जन गरे ।‘मैले सरकारले घर बनाइदिन्छु भनेपछी भएको टहरालाइ समेत भत्काएर पुर्ण अस्थायी टहरामा बसे तर सितलहर, गर्मी र बर्षाले सार्है विजोग बनाएको थियो ।’ उनले भने ।
त्यसो त रामपुकारले यस्तै समस्या कयौं बर्षदेखी नभोगेका हैनन् तर सरकारले घर बनाइदिने भनेपछी अस्थायी टहरामा ओत लाग्दा बितेको ४ बर्ष निक्कै कष्ट बन्यो । रामपुकार जस्तै अहिले यस बस्तिका १९ घरपरिवारमा खुसीयाली छाएको छ । सरकारले छानाको व्यस्था गरेपछी आधा समस्या नै निराकरण भएको मुसहर समुदायको बुझाई छ ।
अहिले यस वडा न.२ मात्र १९ घर बनेका छन । गौशाला नगरपालिकाभरी झण्डै ९१ वटा घर बन्ने तयारी भएको जनप्रतिनिधिको भनाई छ । जनता आवास अन्तर्गत नै गौशालास्थित फुल्का, खयरमारामा पनि धमाधम घर बन्दैछन् । पछिल्लो समय जलवायुमा भएको परिवर्तनले गरिव, बिपन्न तथा पिछडिएका बर्गहरुमा सुरक्षित आवासको ब्यवस्थापन हुन नसक्दा निक्कै समस्या बन्दै गएको छ ।
0 प्रतिकृया