Follow us:


Follow us

२२ असार २०८३, सोमवार
२२ असार २०८३, सोमवार


प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा महाअभियोग दर्ता, ९८ सांसदकाे हस्ताक्षर

एक्सन खबर
१ फागुन २०७८


प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा महाअभियोग दर्ता, ९८ सांसदकाे हस्ताक्षर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको छ। माओवादी केन्द्रका संसदीय दलका प्रमुुख सचेतक देव गुरुङले प्रधानन्यायाधीशविरुद्ध आइतबार संसद्  सचिवालयमा महाअभियोग दर्ता भएको जानकारी दिए ।

उनका अनुसार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपाका सांसदहरूले जबराविरुद्ध संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता भएको हो। प्रस्तावमाथि ९८ जना सांसदले हस्ताक्षर गरेका छन् ।

महाभियाेग दर्ता भएसँगै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निलम्बनमा परेका छन् । महाअभियोग प्रस्ताव दर्तापछि संविधानतः प्रधानन्यायाधीश निलम्बनमा पर्छन् ।

संविधानविद् डा. भीमार्जुन आचार्यका अनुसार महाअभियोग प्रस्ताव दर्ता भएपछि प्रधानन्यायाधीश जबराले उक्त पदमा रहेर कुनै पनि काम गर्न पाउने छैनन् । संविधानको धारा १०१ को (६) (२) अनुसार महाअभियोगको कारबाही प्रारम्भ भएपछि नेपालको प्रधानन्यायाधीश वा सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषद् सदस्य, संवैधानिक निकायका प्रमुख, वा पदाधिकारीले त्यस्तो कारबाहीको टुंगो नलागेसम्म आफ्नो पदको कार्य सम्पादन गर्न पाउने छैन भन्ने व्यवस्था उल्लेख छ ।

संविधानविद् आचार्यले संविधानको गम्भीर उल्लंघन गरेको वा कार्य क्षमताको अभाव वा खराब आचरण वा पदीय दायित्वको पालन इमान्दारीपूर्वक नगरेको वा आचारसंहिताको गम्भीर उल्लंघन गरेको भन्ने आधारमा प्राप्त सूचना, जानकारी वा उजुरी ग्राह्य रहेको भनी प्रतिनिधिसभाका कम्तीमा तीनजना सदस्यले प्रमाणित गर्नुपर्ने पनि प्रावधान रहेको पनि बताए ।

उनका अनुसार प्रस्ताव पेसपछि महाअभियोग समितिले त्यस्तो उजुरीमाथि संघीय कानुनबमोजिम छानबिन गरी महाभियोगसम्बन्धी कारबाहीका लागि प्रतिनिधिसभासमक्ष सिफारिस गर्नुपर्ने हुन्छ । र, महाअभियोग प्रस्ताव पास हुन प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुई तिहाइ बहुमत आवश्यक हुन्छ । बहुमत पारित भएमा मात्रै प्रधानन्यायाधीश जबरा पदबाट मुक्त हुनेछन् ।













0 प्रतिकृया