एमसीसी पेस गर्ने कार्यव्यवस्था परामर्श समितिको निर्णय, प्रधानमन्त्री संसद भवनमा
एक्सन खबर
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठकले एमसीसी सम्झौता अनुमोदन प्रस्ताव प्रतिनिधिसभा बैठकमा पेस गर्ने निर्णय गरेको छ ।
नयाँबानेश्वरस्थित संसद भवनमा बसेको समितिको बैठकले आजै बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल गर्ने निर्णय गरेको हो । तर, यो निर्णयप्रति माओवादी केन्द्रले फरक मत राखेको छ । माओवादी प्रमुख सचेतक देव गुरुङले समिति बैठकमा लिखित असहमति राखेका छन् ।
यसअघि आइतबार बिहान बसेको सत्तारुढ गठबन्धन बैठकमा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदीय समितिमा लगेर छलफल गरी सर्वदलीय सहमतिमा मात्र एमसीसी पेस गर्नुपर्ने प्रस्ताव गरेका थिए ।
यसैविच प्रधानमन्त्री शेरबहादुर देउवा संसद भवन नयाँ बानेश्वर पुगेका छन् । दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक अझै सुरु हुन सकेको छैन । आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गर्ने तयारी गरिएको छ ।
यसको विरोधमा नयाँ बानेश्वर क्षेत्रमा विरोध प्रदर्शन भइरहेको छ । सत्तारूढ दलका भातृ संगठनहरूले समेत एमसीसी पास गर्न नहुने भन्दै चर्का नाराबाजी लगाउँदै प्रदर्शन गरिरहेका छन् ।
0 प्रतिकृया