नेकका विद्यार्थीलाई सफलताः पाेखरा विश्वविद्यालयकाे दीक्षान्तमा स्वर्ण पदक
एक्सन खबर
विवेक अधिकारी
पाेखरा । सामाजिक शैक्षिक संस्थाका रूपमा स्थापित नेपालकाे इन्जिनियरिङ शिक्षामा महत्वपूर्ण याेगदान पुर्याउँदै आएकाे नेपाल इन्जिनियरिङ कलेज (नेक) लाई स्वर्ण पदक प्राप्त भएकाे छ ।
पोखरा विश्वविद्यालयको सत्रौं दीक्षान्त समारोहमा नेपाल इन्जिनियरिङ कलेज (नेक)का स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थी सुभाषकुमार दत्तले स्वर्ण पदक प्राप्त गरेका हुन् । एम. एस्सी ट्रान्सपोर्टेसन इन्जिनियरिङ एण्ड म्यानेजमेन्टका विद्यार्थी दत्तले विश्वविद्यालयकाे परीक्षामा सर्वोत्कृष्ट जि.पि.ए.(४ मा ४) अंक ल्याएकाले स्वर्ण पदक प्रदान गरिएको हो ।
नेकमा सञ्चालित विभिन्न स्नातक कार्यक्रमहरूमा उत्कृष्ट जि.पि.ए. ल्याउन सफल २६ जना विद्यार्थीहरूलाई समेत विश्वविद्यालयको सत्रौं दीक्षान्त समारोहमा डीन लिष्टमा समावेश गरिएको छ । नेकबाट विभिन्न स्नातकोत्तर कार्यक्रमहरूको अध्ययनमा उत्कृष्ट जि.पि.ए. ल्याउन सफल ११ जनालाई डीन लिष्टमा समावेश गरिएको छ । उत्कृष्ट जि.पि.ए.ल्याएपनि कोभिड १९ महामारीको कारणले शोधपत्र बुझाउन ढिला भएका विद्यार्थीहरूको नामावली डीन लिष्टमा समावेश छैन ।
डीन लिष्ट र स्वर्ण पदक प्राप्त गर्न सफल विद्यार्थीहरूलाई आज काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुरेशराज शर्मा, पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालबाट प्रमाणपत्र दिइएकाे छ । विश्वविद्यालयको दीक्षान्त समारोहमा विगत तीन वर्षदेखि हुन सकेको थिएन । १७ औं दीक्षान्त समारोहको अध्यक्षता प्रधानमन्त्री तथा पोखरा विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले गर्ने तय भएतापनि अन्तिम समयमा उहाँ देउवा सहभागी हुन नसकेपछि पोखरा विश्वविद्यालयका उपकुलपति डा. अर्यालले गरेका थिए । समाराेहमा शिक्षामन्त्री समेत सहभागी भएनन् ।
नेकबाट इन्जिनियरिङ अध्ययन पुरागरी प्रमाणपत्रको लागि आवेदन दिने विद्यार्थीहरूको संख्या यस वर्ष दुई सय ९८ जना रहेकाे थियो । साेह्राैं दीक्षान्त समारोह पश्चात नेकबाट स्नातक र स्नातकोत्तर तह गरी ६ सय २५ जना विद्यार्थीहरूले विभिन्न कार्यक्रमहरूमा इन्जिनियरिङ अध्ययन पुरा गरिसकेकाे कलेजले जनाएकाे छ ।
नेकबाट इन्जिनियरिङ अध्ययन पुरा गरेपनि विभिन्न कारणले प्रमाणपत्रको लागि समयमै आवेदन नदिएका विद्यार्थीहरूको नाम दीक्षान्त समारोहको जानकारी पुस्तिकामा समावेश गरिएकाे छैन ।
दीक्षान्त समाराेहमा पाेखरा विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालित देशका विभिन्न कलेजहरूबाट विभिन्न विषयहरूमा उत्कृष्ठ अंक ल्याउने विद्यार्थीहरूलाई पनि सम्मानीत गरिएकाे थियाे । पाेखरा विश्वविद्यालयकाे शैक्षिक उन्नयनमा नेककाे भूमिका महत्वपूर्ण रहेकाे छ ।
दीक्षान्त समाराेहमा बाेल्दै काठमाडाैं विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. सुरेशराज शर्माले देश प्राकृतिक स्रोत र साधनले धनि हुँदाहुँदै पनि विज्ञान र प्रविधिमा पछि रहेको तर्क गर्दै जलस्रोत र यातायात क्षेत्रले पनि अपेक्षित गति लिन नसकेको बताए । देशमा युवा बेरोजगारीको कहाली लाग्दो अवस्था रहेको र व्यापार सन्तुलन घाटामा रहेको उल्लेख गर्दै डा. शर्माले हामीलाई मागेर खाने होइन गरेर खाने शिक्षा चाहिएको उल्लेख गरे ।
विश्वविद्यालयका उपकुलपति डा. प्रेमनारायण अर्यालले पोखरा विश्वविद्यालयको आफ्नै एउटा छुट्टै पहिचान रहेको जनाउँदै यसले नेपालका अरू विश्वविद्यालयको तुलनामा शैक्षिक पर्यटन र स्वास्थ्य पर्यटनको विकासमा महत्वपूर्ण योगदान दिन सक्ने जिकीर गरे । उपकुलपतिले आफ्नो सीप र दक्षतालाई विद्यार्थीले देशको गौरव तथा प्रतिष्ठा बढाउन सदुपयोग गर्नुपर्ने बताउँदै प्रतिबद्धतासहित दत्तचित्त, कर्मठ र कर्तव्यपथमा अडिग र निर्भिक भएर लाग्न विद्यार्थीलाई आग्रह गरे ।
दीक्षान्त समारोहमा २०७५ चैत्र २० गतेपछि २०७८ साल फागुन १ गतेसम्म ट्रान्स्क्रिप्ट लिएका विभिन्न शैक्षिक कार्यक्रमका तहपार गरेका कुल ११,२६८ जना विद्यार्थीहरुलाई दिक्षित गरिएको थियो । दीक्षित विद्यार्थीमध्ये मानविकी तथा व्यवस्थापनतर्फको विद्यावारिधि तहमा तीन जना, विज्ञान तथा प्रविधि संकायको स्नातकोत्तर तहमा ४९४ जना र स्नातकतहमा २,५२१ जना र स्वास्थ्य विज्ञान संकायको स्नातकोत्तरतहमा ८४ जना र स्नातकतहमा १,०१४ जना छन् । त्यसैगरी मानविकी तथा सामाजिकशास्त्र संकायअन्तर्गतको एमफिल तहमा ९७ जना, स्नातकोत्तर तहमा ९३ जना र स्नातकतहमा ५७ जना तथा व्यवस्थापन संकायको स्नातकोत्तरतहमा १,६९६ जना र स्नातकतहमा ५२०५ जना विद्यार्थी दीक्षित भएका छन् ।
दीक्षान्तमा विभिन्न विधाका ९३१ जना विद्यार्थी डीन लिष्टमा पर्न सफल भए । जसमध्ये व्यवस्थापन संकायको स्नातकोत्तर तहमा २१९ जना र स्नातकतहमा ३९० जना, स्वास्थ्य विज्ञान संकायको स्नातकोत्तर तहमा १८ जना र स्नातक तहमा ९५ जना, विज्ञान तथा प्रविधि संकायको स्नातकोत्तर तहमा ५७ जना र स्नातक तहमा १३६ जना, मानविकी तथा सामाजिकशास्त्र संकायको एमफिल तहमा ५ जना, स्नातकोत्तर तहमा ६ जना र स्नातक तहमा ५ जना विद्यार्थी छन् ।
दीक्षान्त समारोहमा विद्यावारिधि तहमा सर्वोकृष्ट अंक प्राप्त गर्ने ३ जनालाई कुलपति पदक, स्नातक तहका विभिन्न विधामा सबैभन्दा उच्च अंक प्राप्त गर्ने ८ जनालाई उपकुलपति पदक र स्नातकोत्तर तहका विभिन्न विद्यामा सबैभन्दा उच्च अंक प्राप्त गर्ने १६ जना विद्यार्थीलाई कुलपति पदकले विभूषित गरिएको थियो । साथै कम्प्यूटर एप्लिकेशन स्नातक तहमा सबैभन्दा उच्च अंक प्राप्त गर्ने ३ जना विद्यार्थीलाई ओसिईएम गोल्ड मेडलबाट विभूषित गरिएको थियो ।
0 प्रतिकृया