नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरूलाई साइबर सुरक्षा सचेतना
एक्सन खबर
काठमाडाैं । नेपाल इन्जिनियरिङ कलेजमा कम्प्युटर इन्जिनियरिङ विषय लिएर अध्ययनरत विद्यार्थीहरूलाई साइबर सुरक्षा सचेतना दिइएकाे छ । कलेजकाे कम्प्युटर इन्जिनियरिङ स्टुडेन्ट सोसाइटीले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको सहयोग तथा वाइवी सलुसन्सको प्रशिक्षण साझेदारीमा कम्प्युटर इन्जिनियरिङका विद्यार्थीहरूलाई साइबर सुरक्षा सचेतना दिएकाे हाे ।
कार्यक्रमका प्रमुख अतिथी पाेखरा विश्वविद्यालयका विज्ञान तथा प्रविधि संकायका डिन प्राध्यापक राजेश ठकुराठीले पछिल्लाे समय आइटी तथा कम्प्युटर इन्जिनियरिङ गरिरहेका विद्यार्थीहरू जानअन्जानमा साइबर सुरक्षा र साइबर अपराधमा पर्दै गइरहेकाेले त्यस्ता घटनाहरू न्यूनीकरण गर्न साइबर सुरक्षा सचेतना अपरिहार्य भएकाे बताए । उनले साइबर सुरक्षा, डिजिटल सुरक्षाको महत्व तथा बढ्दो साइबर जोखिमबारे विद्यार्थी तथा सहभागीहरूमा सचेतना अभिवृद्धि गर्न सरकार, नियामक निकाय, विश्वविद्यालय तथा कलेज र सराेकारवालाहरू लागिपर्नु पर्ने समेत बताए ।
त्यसैगरी, नेपाल इन्जिनियरिङ कलेजका प्राचार्य सह–प्राध्यापक दुर्गाप्रसाद भण्डारीले विद्यार्थीहरूलाई आइटी तथा साइबर अपराध, साइबर सुरक्षा र साइबर कानुनकाे ज्ञान दिन कार्यक्रम गरिएकाे जानकारी दिँदै पछिल्लाे समय नेपालमा पनि साइबर अपराध, वित्तीय अपराध तथा आइटीबाट गलत कृयाकलाप भइरहेकाेले त्यस्ता विषयमा आइटी अध्ययन गरिरहेका विद्यार्थीहरू बढी सचेत हुनुपर्ने उल्लेख गर्नुभयाे । यस्तै विद्यार्थीहरूलाई किताबी ज्ञानसँगै व्यवहारिक ज्ञान दिन यस्ता सचेतनामुलक कार्यक्रमहरू समयसमयमा दिइने प्राचार्य भण्डारीले बताए ।
मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित यस कलेजमा इन्जिनियरिङ विधामा स्नातक तथा स्नातकाेत्तर तहसम्मकाे अध्ययन अध्यापन हुने गरेकाे छ । व्यवहारिक, जीवनाेपयाेगी तथा प्रयाेगात्मक शिक्षण विधिद्वारा अध्ययन अध्यापन हुने यस कलेजलाई नेपाल इन्जिनियरिङ काउन्सिलले स्थायी मान्यता दिएकाे छ ।
0 प्रतिकृया