Follow us:


Follow us

१७ जेठ २०८३, आइतवार
१७ जेठ २०८३, आइतवार


एक किलो तरकारी लिँदा तीन किलो धान दिनुपर्ने गाउँको कथा

एक्सन खबर
१० फागुन २०७८


एक किलो तरकारी लिँदा तीन किलो धान दिनुपर्ने गाउँको कथा

विशाल बस्नेत

महोत्तरी । बर्दिबास-३ रजावासका मानबहादुर भट्टराई अहिले निकै खुसी छन् । भट्टराई केही वर्ष पहिलामात्र तरकारीको लागि धान साटने गर्थे । महँगोमा धान साटनु पर्दा तरकारीभन्दा पनि धान कसरी उत्पादन हुन्छ भन्नेमा नै किसानहरूलाई चिन्ता हुने गर्थ्यो । दाल, साग तथा कुनै पनि तरकारी खानका लागि रजावासमा निकै समस्या बन्ने गरेको भट्टराईसँग सम्झना छ ।

`एक किलो तरकारी लिँदा तीन किलो धान दिनुपर्ने बाध्यताले किसानहरू तरकारी खानकै लागि धानको जोहो गर्नुपर्ने हुन्थ्यो,´ उनी भन्छन ।

सिँचाइको अभाव र खेती गर्ने तरिकाहरूको विषयमा खासै जानकार नहुँदा रजावास क्षेत्रमा बसोबास गर्ने प्राय:जसो किसानहरूको  तरकारी लिने र धान दिने प्रक्रिया कयौँ वर्षसम्म चलिरह्यो । भट्टराईको पनि झण्डै एक पुस्ताले तरकारी खानका लागि धान उत्पादन गरे र जीविकोपार्जनको लागि यही प्रक्रियालाई अवलम्बन गरे ।

तर, भट्टराईका आजकाल दु:खका दिनहरू फेरिएका छन् । घर वरपर हरियाली छ । सुख्खा र पानीको अभावमा डढेलो जस्तो देखिने गाउँका वस्ती अहिले हरियाली बनेका छन् । करेसाबारीमा लहलह तरकारी उत्पादन भइरहेको छ, जसले धान साटनबाट भट्टराईलाई मुक्ति दिलाएको छ ।

करिब दुई सय घर बसोबास गर्ने यस गाउँमा अहिले सिँचाइको पर्याप्त सुविधा छ । विगत पाँच वर्षदेखि यहाँका हरेक किसानले न तरकारी खान धान साट्नुपरेको छ, न त धान उत्पादनको लागि चिन्ता नै लिनुपरेको छ । पर्याप्त सिँचाइको कारणले तरकारीमात्र लहलह हैन गाउँको रुप नै फेरिएको छ ।

स्थानीय सरकार निर्वाचित भएपछि पनि यहाँको मुहार फेर्न निक्कै कसरत गरेको वडा अध्यक्ष राजन ढुंगाना बताउँछन । ` यहाँको समुदायको समस्यालाई ध्यानमा राखेर हामीले सिँचाइमा ठूलो बजेट विनियोजित गर्‍यौँ,´ उनले भने ।

रजावासमा मात्र नगरपालिका, प्रदेश तथा संघीय बजेटबाट करिब तीना करोडको काम भएको छ । खानेपानीको समेत चरम अभाव रहेको यस ठाउँमा अहिले एक घर एक धाराको अवधारणा लागु भएको छ । गाउँको नजिकै दुधेस्वरी माध्यामिक विद्यालय छ । पढनको लागि कालापानी, चुरे, भिमान जानुपर्ने समस्याबाट यहाँका बालबालिकाले मुक्ति पाएका छन् । चुरेको काखमा रहेको यस गाउँमा सडक सञ्जालको पनि उत्तिकै विकास भएको छ ।

बर्दिबास बजारसम्म जान रजावास हुँदै पाटु जाने फास्ट ट्र्याक खोलिएको छ । यसले गर्दा कृषि उपजहरूलाई बजारसम्म लैजान निकै सहज भएको स्थानीय बताउँछन । सुख्खा क्षेत्र अन्तर्गत खानेपानीको वैकल्पिक योजनालाई समेत अगाडि बढाइएको छ । यसले गर्दा झन् स्थानीयहरूलाई जुनसुकै समयमा खानेपानीको समस्या नहुने स्थानीयहरूले विश्वास लिएका छन् ।












0 प्रतिकृया